एनआरएनए अध्यक्षद्वार युएईमा कामदारका समस्याबारे बहुपक्षीय छलफल
गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले हालै संयुक्त अरब इमरेट्स(युएई)को भ्रमण गरि यहाँ रहेका नेपाली कामदारको समस्याबारे बिभिन्न पक्षसंग छलफल गर्नुभएको छ । सो अबसरमा अध्यक्ष घलेले युएईका लागि नेपाली राजदूत महामहिम धनञ्जय झासंग भेट गरि युएईमा रहेका नेपाली कामदारका समस्याबारे जानकारी लिनुका साथै अप्ठेरोमा परेका नेपाली कामदारलाई सहयोग गर्न कसरी नेपाली राजदूतवास र एनआरएनएले सहकार्य गर्न सक्छन भन्ने बिषयमा छलफल गर्नुभयो । गैरआवासीय नेपाली संघले हालै स्थापना गरेको ‘बैदेशिक रोजगार कल्याणकारी कोष’ को अध्यक्ष समेत रहनुभएका घलेले त्यसको कार्यन्वयपक्षका बिषयमासमेत राजदूत, स्थानीय गैरआवासीय नेपाली र सरोकारवालासंग छलफल गर्नुभयो । मृत्युदण्डको सजाय पाएका अनिश खालिङ बचाउ अभियानको प्रगतिबारे जानकारी लिंदै उहाँले यो अभियानमा संलग्न सवैलाई हार्दिक धन्यवाद दिनुभयो । घलेले खालिङलाई जेलमै भेट्ने कोसिस गर्नुभएको थियो तर समयको तालमेल मिल्न नसक्दा भेट हुन सकेन ।
अबुधावीको अदालतबाट मृत्युदण्डको सजाय सुनाइएका अनिशलाई बचाउन पिडीत पक्षले ३ लाख दिराम अर्थात करिव ८६ लाख रुपैयाँ माग गरेको थियो । गैरआवासीय नेपाली संघसमेतको पहलमा हालसम्म झण्डै १ करोड रुपैयँ बिभिन्न देशबाट सहयोग जुटिसकेको छ ।
युएई भ्रमणका क्रममा अध्यक्ष घलेले त्यहाँका बिभिन्न सामुदायिक संस्थाले आयोजना गरेको सम्मान कार्यक्रममा पनि सहभागिता जनाउनुभयो । बैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली कामदारको सहयोगलाई आफ्नो कार्यकालको मुख्य मुद्दा बनाउनु भएका अध्यक्ष घलेले राहत कोष कार्यन्वयन र बैदेशिक रोजगारको दीर्घकालीन ब्यबस्थापनका लागि श्रम गन्तब्य मुलुकमा पुगेर सरोकारवाला निकायसंग छलफलको सुरुवात गर्नु भएको छ ।