News

  • Home
  • News
  • एनआरएनको साझेदारीमा काठमाण्डौमा बैदेशिक रोजगार सूचना केन्द्र स्थापना

एनआरएनको साझेदारीमा काठमाण्डौमा बैदेशिक रोजगार सूचना केन्द्र स्थापना



काठमाण्डौ । गैरआवासीय नेपाली संघको साझेदारीमा काठमाण्डौको श्रमग्राममा ‘बैदेशिक रोजगार सूचना तथा परामर्श केन्द्र’ स्थापना भएको छ । श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले बिहीबार केन्द्रको उद्घाटन गर्नुभयो । बैदेशिक रोजगार प्रर्बद्धन बोर्डको अग्रसरता तथा गैरआवासीय नेपाली संघ र अन्तराष्ट्रिय श्रम संगठनको सहकार्यमा सूचना केन्द्र स्थापना भएको हो । सूचना केन्द्रको भौतिक पूर्वाधार निर्माणका लागि अन्तराष्ट्रिय श्रम संगठनले सहयोग गरेको हो भने गैरआवासीय नेपाली संघको सक्रियतामा यसलाई सञ्चालन गरिने छ ।

 

बैदेशिक रोजगार बिभागसमेत रहेको श्रमग्राम परिसरमा स्थापित यो केन्द्रले बिदेश जान चाहने नेपालीहरुलाई सम्बन्धित देशको नियम कानुन, तलव तथा अन्य अत्याबश्यक बिषयमा जानकारी प्रदान गर्ने छ । केन्द्रमा गैरआवासीय नेपाली संघले सूचना अधिकारी र कानुनी परामर्शदाताको ब्यबस्था गर्ने छ । यसैगरी संघले रोजगार गन्तब्य मुलुकमा तीन–तीन जनाको स्रोत ब्यक्तिहरुको समूह ब्यबस्था गर्ने छ जसले आबश्यक सूचना र सहयोग प्रदान गर्नेछन् । सूचना केन्द्रसंगै अन्तर्राष्ट्रिय श्रम संगठनले अभिमुखीकरण तालिम केन्द्रसमेत बनाइदिएको छ जसमा बिभिन्न देशका बिषयमा बनाइएका डकुमेन्ट्री प्रर्दशन गर्नुका साथै अभिमुखीकरण तालिमसमेत दिइने छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले बैदेशिक रोजगारीमा हुने ठगीको स्रोत नै गलत सूचना भएकाले सही सूचना प्रबाहका लागि केन्द्र स्थापना गर्नुपरेको बताउनुभयो । केन्द्र संचालनका लागि संघले एकजना वकिल र दुई जना सूचना अधिकारी राख्ने छ जसले श्रम गन्तब्य मुलुकमा रहेका एनआरएन राष्ट्रिय समन्वय समितिहरुसंग समन्वय गर्ने छ । संघले ती मुलुकमा तीन–तीन जना स्रोत ब्यक्तिहरुको ब्यबस्था गर्ने छ जसले काठमाण्डौस्थित सूचना केन्द्रका अधिकारीहरुलाई सूचना र सहयोग उपलब्ध गराउनेछन् । समारोहलाई सम्बोधन गर्दै श्रमराज्य मन्त्री गुरुङले दुई बर्ष अगाडी आफुले देखेको सपना आफ्नो कार्यकाल सकिनैलाग्दा पुरा भएकोमा खुसी ब्यक्त गर्नुभयो । उहाँले केन्द्रको संचालन तथा विस्तारका लागि गैरआवासीय नेपाली संघको महत्वपूर्ण भूमीका हुने भन्दै सरकारले संघका तर्फबाट थप लगानीको अपेक्षा गरेको बताउनुभयो । कार्यक्रममा बैदेशिक रोजगार प्रर्बद्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले, श्रम तथा रोजगार मन्त्रालयका निमित्त सचिव सूर्यप्रसाद श्रेष्ठ, आइएलओका नेपाल प्रतिनिधि जोसे असालिनो र युरोपेली युनियनका प्रतिनिधि अन्ड्रेस रेटगरले पनि सम्बोधन गर्नुभएको थियो ।

 

 गैरआवासीय नेपाली संघको सचिवालय, काठमाण्डौ ।