News

  • Home
  • News
  • एनआरएनए अध्यक्ष र अर्थमन्त्रीवीच भेटवार्ता

एनआरएनए अध्यक्ष र अर्थमन्त्रीवीच भेटवार्ता



काठमाण्डौं । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घले नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री बिष्णु पौडेलसंग भेटवार्ता गर्‍यो । असार ३ गते (जुन १७ तारिख) अर्थमन्त्रालयमा भएको भेटमा अध्यक्ष घलेले भर्खरै प्रस्तुत आर्थिक बर्ष २०७३/७४ को बजेटले नेपालको बिकासमा महत्व राख्ने क्षेत्रहरु पुन:र्निमाण, पूर्वाधार बिकास, महिला सशक्तिकरण, उद्यमशिलता बिकास आदिलाई समायोजन गरी ६ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिदरको प्रक्षेपण गर्नु उत्साहजनक कार्य भएको वताउँदै ऐतिहासिक वजेट प्रस्तुत गर्नु भएकोमा अर्थ मन्त्रीलाई बधाई दिंदै यसको सफल कार्यान्वयनमा जोड दिनुभयो । बजेटले गैरआवासीय नेपालीहरुको मताधिकार तथा जलविद्युतका क्षेत्रमा लगानीका अवसरहरुको व्यवस्था गरेकोमा धन्यवाद दिंदै संघको तर्फबाट भरपूर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । संघले लाप्राकमा निर्माण गर्न लागेको नमूना एकिकृत वस्तीबारे जानकारी गराउँदै अध्यक्ष घलेले लाभग्राहीहरुको सिप बिकासमा समेत यस परियोजनाले सहयोग गर्ने जानकारी गराउनुभयो । लाप्राक क्षेत्रमा पूर्वाधार निर्माणको दायित्व राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लिएको हँदा आवश्यक बजेटको बिनियोजन गरिदिन समेत अनुरोध गर्नु भयो ।

 

यसैगरी अध्यक्ष घलेले विदेशमा अलपत्र परेका महिलाहरुको लागि सुरक्षित आवास गृहको व्यवस्था, दोहोरो करको अन्त्य, हजारे अभियान तथा गैरआवासीय नेपाली विज्ञहरुको राष्ट्रिय नीतिनिर्माणमा सहभागिताका बारेमा पनि माननीय अर्थमन्त्रीसंग छलफल गर्नु भयो । माननीय अर्थमन्त्री पौडेलले हजारे अभियान कण्ठप्रिय भएको तर रकम संकलन, व्यवस्थापन, परिचालन तथा यसबाट प्राप्त हुने प्रतिफल लगायतका सबै पक्षबारे अध्ययन गर्नु पर्ने बताउनुभयो । महिलाका लागि सुरक्षित आवासगृह सञ्चालन सम्बन्धमा दूतावासहरुसंग छलफल भईरहेको जानकारी दिंदै अर्थमन्त्री पौडेलले यसको व्यवस्थापन गैरआवासीय नेपालीहरुको सहयोग र सहकार्यमा गर्न सकिने अवगत गराउनु भयो । उहाँले लागत तथा प्रतिफल अनुकुल जलविद्युत आयोजनामा गैरआवासीय नेपालीहरुलाई लागानी गर्न सुझाव दिंदै गैरआवासीय नेपालीहरुको लगानीलाई सुरक्षित गर्न सरकारको ५१ प्रतिशत तथा गैरआवासीय नेपालीको ४९ प्रतिशत लगानीमा परियोजनहरु संचालनमा ल्याउन सकिने विचार व्यक्त गर्नु भयो । गैरआवासीय नेपाली संघले निर्माण गर्न लागेको नमूना वस्ती साँच्चिकै नमूना परियोजना हुनेमा आफू विश्वस्थ रहेको र यस कार्यको लागि आवश्यक सहयोग गर्न नेपाल सरकार प्रतिबद्ध रहेको जानकारी दिंदै सम्पूर्ण नेपालीहरुले यस कार्यलाई आदर र महत्वका साथ हेरिरहेको वताउनुभयो । उहाँले गैरआवासीय नेपालीहरुको विज्ञताको कदर गर्दै नीतिनिर्माणमा उचित स्थान दिईने आश्वासन दिनुभयो । नेपालमा बिकास निर्माणमा प्रसस्त काम गर्नुपर्ने देखिएकोले साढे ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल कठिन नहुने उहाँको भनाई थियो । विदेशमा रहेका नेपालीहरुलाई मताधिकार दिलाउने काम चुनौतीपूर्ण भए पनि अत्याबश्यक भएकाले निर्वाचन आयोगसंग समन्वय गरी यसलाई कार्यन्वयन गरिने बताउनुभयो । माननीय मन्त्रीज्यूले बजेट प्रस्तुतीलेनै चुनौतिहरु सामना गर्न तयार र तत्पर रहेको देखाएको औंलाउँदै अन्तर मन्त्रालय समन्वय गरी बजेट कायान्वयनका कार्ययोजनाहरु बनाई संसदमा पेश गर्ने जानकारी समेत दिनुभयो ।

गैरआवासीय नेपाली संघ सचिवालय,

काठमाण्डौ ।