News

  • Home
  • News
  • एनआरएनएको सहभागितामा अन्तर्राष्ट्रिय युवा सम्मेलन हुँदै

एनआरएनएको सहभागितामा अन्तर्राष्ट्रिय युवा सम्मेलन हुँदै



काठमाण्डौ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा यही आउने २०१६ अक्टोवर १ देखि ४ सम्म अन्तर्राष्ट्रिय युवा सम्मेलन काठमाण्डौमा आयोजना गरिने भएको छ । सो सम्मेलन सम्बन्धि जानकारी गराउन राष्ट्रिय युवा परिषदमा एक पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

 

कार्यक्रममा बोल्दै संघका अध्यक्ष शेष घलेले नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद र संघको सहकार्यमा हुन लागेको सम्मेलनलाई सफल बनाउन संघले पुरा सहयोग गर्ने बताउनु भयो । यस सम्मेलनमा विदेशमा रहेका युवा त्यसमा पनि दोश्रो पुस्ताका युवाहरुलाई सहभागी गराई उनीहरुलाई मातृभूमी प्रति आकर्षित गराउन यस सम्मेलनले ठूलो सहयोग पुर्‍याने छ भन्ने धारणा राख्नु भयो । यस सम्मेलन मार्फत गैरआवासीय नेपाली युवाहरुले हासिल गरेका ज्ञान, सीप र अनुभवलाई नेपालमा रहेका उद्यमशील युवाहरुसंग आदानप्रदान गर्न पाउने एउटा ठूलो अवसर प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताउनु भयो । यस सम्मेलनले महिला युवाहरुलाई अत्यधिक मात्रामा सहभागी गारउनु पर्नेमा जोड दिंदै भूकम्पबाट प्रभावित क्षेत्रहरुको पुनर्निर्माणमा आवासीय र गैरआवासीय नेपालीहरुलाई अध्यधिक मात्रामा परिचालन गराउनको लागि सम्मेलनले एउटा महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ भने विश्वास व्यक्त गर्नु । अन्त्यमा उहाँ भर्खरै स्थापित भएको राष्ट्रिय युवा परिषदले यस सम्मलेन आयोजना गर्नको लागि नेतृत्व लिएकोमा धन्यवाद व्यक्त गर्नु भयो । कार्यक्रममा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष, युवा तथा खेलकुद मन्त्रालयमा सहसचिव, तथा प्रतिनिधिहरुले सम्मेलन बारे जानकारी गराउनु भएको थियो भने गैरआवासीय नेपाली संघका यूवा उपसंयोजक लोकरज शर्माले प्रेस वक्तव्य पढेर सुनाउनु भयो । यस कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद्, संघका कोषाध्यक्ष हिक्मत थापा, डेनमार्कबाट आउनु भएको गैरआवासीय नेपाली, सरोकावाला संघ संस्थाका प्रतिनिधिहरु, गैरआवासीय नेपाली संघ सचिवालयका साथै संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

गैरआवासीय नेपाली संघ सचिवालय

काठमाण्डौं ।

मिति २०७३।०२।३०