Publications

  • Home
  • Publications
  • साउदीमा नेपालीको अवस्था र संविधानसभामा प्रवासीबारे शुक्रराज भण्डारीको विचार

साउदीमा नेपालीको अवस्था र संविधानसभामा प्रवासीबारे शुक्रराज भण्डारीको विचार



संविधानसभाको निर्वाचनमा प्रवासी नेपालीको माग गरिरहनु भएको छ ढिला भएन र ?

यो विषयमा ढिला हामीले गरेका होइनौ सरकारले नै गरेको हो । हामीले धेरै पहिले देखिनै प्रवासमा रहेका नेपालीहरुले संविधानसभाको निर्वाचनमा भाग लिन पाउनुपर्छ भनेर आवज उठाउँदै आएका थियौ तर सरकारले यसको सुनुवाई नै गरेन । त्यसैले ढिलो भएको देखिएको हो । यदि यो सरकारले प्रवासमा रहेका नेपालीहरुलाई संविधानसभाको निर्वाचनमा भाग लिन पाउने व्यावस्थ गर्ने हो भने एक हप्तामा सबै समस्याको समाधान हुन्छ भन्ने हामीलाई लागेको छ । यस विषयमा हामीले सिहदरवार घेराउको कार्यक्रम पनि आयोगना गरेको थियौ तर सरकारले यस विषयमा कुनै सुनुवाई नै गरेन । यसको निरन्तरता हो यो आन्दोलन पनि । हामी आन्दोलन गरिरहने छौ ।

तपाईहरुको माग नेपाल सरकारले पुरा गर्ला त ? के लाग्छ ?

सरकारले हाम्रो माग बाध्य भएर पुरा गर्नुपर्छ । विदेशमा रहेका नेपालीहरुको पनि अधिकार सुरक्षित गर्नुपर्छ । अन्यथा सरकारले प्रवासी नेपालीहरुलाई संविधानसभाको निर्वाचनमा भाग लिन नदिए प्रवासी नेपालीहरुमाथि ठूलो अन्याय पर्ने छ । नेपाल सरकारलाई धेरै ठूलो घाटासमेत हुनेछ । त्यसैले हामीले अघि सारेको माग सरकारले बाध्य भएर पूरा गुर्नपर्छ भन्ने मैले ठानेको छु ।

विदेशमा रहेका नेपालीहरुले कुन प्रक्रियाबाट संविधानसभामा भाग लिन सक्छन् जस्तो लाग्छ तपाईलाई ?

किन सकिदैन, सजिलै सकिन्छ । बरु नेपालकै कर्णालीमा संविधानसभाको निर्वाचन गर्न कठिन छ त्यो भन्दा भेरै सजिलो प्रवासमा हुन्छ । प्रवासमा अर्थात जति पनि देशमा राजदूतावास छनन्, त्यहाँ राजदुतावासको माध्यमबाट गर्ने र राजदुतावास नभएका देशमा ईमेल ईन्टरनेटको प्रयोगबाट गर्न सकिने हामीले ठानेका छौ । अहिले सञ्चारले यति धेरै फड्को मारेको छ, यो अवस्थामा विदेशमा रहेका नेपालीहरुलाई संविधानसभाको चुनावमा कसरी समेल गर्न सकिन्छ भनेर चिन्ता गर्नु पर्ने कुनै कारण नै छैन जस्तो मलाई लाग्छ । यो चाहिँ हो कि नेपाल सरकारको इच्छा हुनु पर्छ ।

साउदीमा कति जति नेपाली छन् , कनै तथ्याङ्क छ ? महिलाको कति र पुरुषको कति ?

यस विषयमा नेपालको सरकारसँग पनि साउदीमा कति नेपाली रहेका छन् भन्ने सहि आँकडा छैन । त्यसकारण नेपाल सरकारले अनुमानको आधारमा भन्ने गरेको छ जस्मा तीन लाख छन् भन्ने गरेको छ । तर साउदीमा नेपालबाट भन्दा पनि भारतको बाटो हुँदै धेरै नेपाली गएका छन् ।

त्यसकारण हामी चारलाख भन्दा बढी नेपाली साउदीमा काम गरिरहेका छन् भन्छौ । यसमा पुरुषको दाँजोमा महिलाको संख्या धेरै नै कम छ । यसको छुट्टा-छुट्टै आँकडा कति छ भनेर भन्न भेरै गाह्रो पर्छ । तर पनि ५० देखि ६० हजारको हाराहारीमा महिला कामदार छन भनेर अनुमान लगाउन सकिन्छ । उनीहरुले घरको काममा समय विताउने काम गरेको पाइन्छ ।

नेपालबाट साउदी गएका नेपालीहरुले काम चाहिँ के गर्ने गरेको पाइन्छ ?

साउदीमा बढी जसो अर्धदक्ष जनशक्ति गएका छन् । दक्ष जनशक्ति नेपालले पठाउन सकेको छैन । कतिपय दक्ष जनशक्ति पनि छन् तर तिनीहरुले अदक्षको रुपमा काम गरिरहेका छन् । साउदीमा विशेष गरेर ७५ प्रतिशत नेपालीले लेवरको रुपमा काम गरिरहेका छन् । २० प्रतिशत नेपालीले समान्य प्रकारका काम गर्दछन् जस्तो ड्राइभिङ लगायत घरभित्रका काम गर्दछन् र बाँकी केहीले राम्रै काम गरेका पाइन्छ ।

नेपालीहरुको हक अधिकारको रक्षा गर्न भन्दै विभिन्न संस्थाहरु खोलिएको छ, तिनीहरुले चाहिँ के गर्छ नी ?

हो, नेपालका मात्र नभएर अरु देशका नागरिकहरुले पनि सम्पर्क कार्यालय तथा संघ/ संगठनहरु खोल्ने गरेका छन् साउदीमा । त्यस्तै नेपालीहरुले पनि धेरै प्रकारका संघ/सस्थाहरु खोलेका छन् । त्यस मध्य हाम्रो पनि एक हो । म अरु संघ/संस्थाले के गरे गरेन्न भन्नु भन्दा पनि हाम्रो संगठनले गरेको कामको बारेमा भन्न सक्छु । हामीले साउदीमा रहेका आम प्रवासी नेपालीहरुको हकहितका निम्ती लडेका छौ । र लडिरहने छौ । अरुको बारेमा म यति नै भन्न चाहन्छु उनीहरुले आफ्नो स्वर्थ भन्दा माथि रहेर काम गरेको मैले पाएको छैन । त्यहाँका दुतावाससँग नजिक रहेर पैसा कमाउने उद्देश्य भन्दा पर छैन भन्दा फरक पर्दैन ।