Publications

  • Home
  • Publications
  • सभामुख सुवासचन्द्र नेम्बाङसित रुसमा रहेका गैरआवासीय नेपालीहरुको अन्तरक्रिया

सभामुख सुवासचन्द्र नेम्बाङसित रुसमा रहेका गैरआवासीय नेपालीहरुको अन्तरक्रिया



कृष्णप्रकाश श्रेष्ठ
मस्को नोभेम्बर, १

मस्को यात्रामा रहनुभएका प्रतिनिधि सभाका सभामुख सुवासचन्द्र नेम्बाङ्गसित रुसमा रहेका गैरआवासीय नेपालीहरुको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ३० अक्टोबर सोमबारका दिन भएको उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता डा. जुगल भुर्तेलले अन्तरक्रियाको विषयबारे अवगत गराउनुभएपछि सभामुख नेम्बाङ्गले नेपालमा सम्पन्न भएको जनआन्दोलनको विजयपश्चात् देशको स्थिति र भविष्य भन्ने विषयमा प्रकाश पार्दै अंशतः: भन्नुभयो ‘सफल जनआन्दोलनले देशमा जुन परिवर्तन ल्यायो त्यसलाई एक शब्दमा ऐतिहासिक परिवर्तन भन्न सकिन्छ ।

उहाँले ‘मूल लक्ष्य प्राप्त गर्न अझै बाँकी छ भन्नु हुँदै राज्यशक्तिको मूल स्रोत जनता घोषित गरिएको छ तर राज्यको पुनः संरचना, संविधान सभाको चुनाव र संविधानको घोषणा बाँकी नै छ । जबसम्म संविधान घोषणा हुँदैन तबसम्म मूल लक्ष्य प्राप्त हुँदैन ।’ भन्नुभयो । सभामुख नेम्बाङ्गले ‘अहिले दल, सरकार, प्रतिनिधि सभा यसै लक्ष्यको प्राप्तिका लागि सक्रिय छन्’ भन्नु हुँदै ‘संसदले यसैलाई ध्यानमा राखी संविधानसभाको निर्वाचनको घोषणा गरिसकेको छ । वार्ता सुरु गरेर मात्र पुग्दैन, त्यसलाई निष्कर्षमा पुर्‍याउनुपर्दछ… ।’ भन्नुभयो । उहाँले ‘माओवादीहरुबाट राजनैतिक एजेण्डालाई ध्यानमा राखिएन भन्ने गरिन्छ । संविधान सभाको निर्वाचन साझा एजेण्डाको रुपमा सर्वसम्मतिबाट पारित भएको छ । विगतको अनुभव के रह्यो भने राजा त्रिभुवनले मुलुक संविधान सभामा जान्छ भन्ने घोषणा गरे पनि त्यसो भएन । निरंकुशता बलियो हुँदै गयो, जनता कमजोर हुँदै गयो ।

हाल प्रतिनिधि सभाले दुई काम गर्‍यो :- संविधान सभामा जाने संहिता र समावेसीका आधारहरु कायम गर्‍यो । प्रतिनिधि सभाको घोषणाले राजाको लालमोहरको अधिकार पनि अब राजासँग छैन । राजालाई सबै अधिकारबाट बंचित गरियो । सैनिक ऐन पारित गरियो । कमलको फूलमा राजमुकुटअंकित पुरानो ब्याजको सट्टा महिला र पुरुषको दुईटा हालते नेपाल उचालेको लोगो अपनाइयो । राजाको सिंहासन पनि बैठकबाठ हटाइयो । सभामुखले राजासमक्ष नभई जनतासमक्ष शपथ ग्रहण गरे । संविधानसभा विगतमा जसरी अल्मलिने छैन । समयमै मतदान गरिन्छ । आठ दलबीच मूल विषयहरुमा मोटो समझदारी भइसकेको छ । पाँच बुँदे समझदारी यु.एन.ओ. (संयुक्त राष्ट्र संघ) लाई लेखिएको हतियार नियोजनबारे समझदारी हो । अब निष्कर्षतर्फ अगाडि बढ्दै छौं । अहिले पनि छलफल भइराखेकै छ । संक्षेपमा, अहिले मुलुक वार्ताको चरणमा छ… ।’

वार्ताको सफलताप्रति आफू विश्वस्त रहेको पुष्टिको क्रममा सभामुखले अगाडि भन्दै जानुभयो ‘वार्ताकार दुवै पक्ष एकै ठाउँमा बस्ने-उठ्ने प्रक्रिया संसारमा कतै देखिएको छैन । यो प्रक्रिया नभत्कने प्रयास गरौं । विद्रोही पक्षका नेताहरु जुनसुकै बेला पनि प्रधानमन्त्री र अन्य नेताहरुसँग भेट्नुहुन्छ । वार्ता निश्चत टुंगोमा पुग्ने निश्चित छ । मुलुकको स्थितिमा व्यापक सकारात्मक प्रक्रिया सुरु भएको छ । सुख्खामा पातहरु भरिरहेको ठाउँमा अपरझट नयाँ पालुवा पलाएझै भएको छ…।”

कार्यक्रममा सुवासचन्द्र नेम्बाङ्गले अन्तरक्रिया कार्यक्रममा उपस्थित सन्तोषकुमार के.सी., श्रीमति सपला राजभण्डारी, डा. मणिराज पोखरेल, गोरे शेर्पा, जीवा लामिछाने, डा. कमलमान श्रेष्ठ, रविन्द्र भट्टराई, डा. मधुकृष्ण श्रेष्ठ, घनश्याम राजभण्डारी, जीवन श्रेष्ठलगायतका महानुभावहरुका जिज्ञासा र सान्दर्भिक प्रश्नहरुको संक्षेपमा उत्तर दिने क्रम सुरु गर्नुभएको थियो ।

सो अवसरमा सभामुख नम्बाङ्गले कैयौं प्रश्नहरुको जवाफ दिनुभएपछि अन्तरक्रियामा सरिक भएकाहरुको तर्फबाट गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य एव रुस सीआईएस नेपाल उद्योगवाणिज्य संघका उपाध्यक्ष जीवा लामिछानेले सभामुख सुवासचन्द्र नेम्बाङ्गलाई मस्को यात्राको सम्झनास्वरुप फोटो-अल्बम हस्तान्तरण गर्दै उहाँको यसपल्टको रुस यात्रा अनौपचारिक भए पनि भविष्यमा औपचारिक यात्रामा स्वागत गर्न पाइयोस् भन्ने कामनासहित हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।