Publications

  • Home
  • Publications
  • राहत संकलन र प्रवासी नेपालीहरु – खेमनाथ पौडेल (श्रोत: freenepal.com)

राहत संकलन र प्रवासी नेपालीहरु – खेमनाथ पौडेल (श्रोत: freenepal.com)



अगष्ट, ६ यूएई

विभिन्न टीभी च्यानलहरुमा देखिएका नेपालका दृश्यहरुले अवश्य पनि प्रवासमा बस्ने नेपालीहरुको हृदय रोएको होला र ती पीडित नेपालीहरुको आवाजले पक्कै पनि प्रवासी नेपालीहरुको मनलाई छोएको होला । यदि साँच्चै नै नेपाल आमाको माया छ र सहयोगको भावना छ भने सम्पूर्ण प्रवासी नेपालीहरुले सक्दो सहयोग जुटाऔं र तत्काल आइपरेको आपत्तिलाई केही मात्रामा भए पनि राहत पुर्‍याऔं । सायद हामी प्रवासी नेपालीहरुकै पनि कतिको घरखेत डुवानमा परेको छ होला ।

हालसालै भिषण बर्षाका कारण स्वदेशका विभिन्न स्थानहरु डुवानमा परेका दृश्यहरु हाम्रो आँखा अगाडि छर्लङ्ग देखिएका छन् । विदेशिनुको पीडालाई एकैक्षण थाती राखेर ती आपतमा परेका बाढी पीडितहरुलाई केही मात्रामा भए पनि सहयोग जुटाएर एक स्वाभिमानी नेपालीको पहिचान दिलाऔ । प्रवासी भूमिमा कार्यरत करिव १५ लाख नेपालीहरुले नेपाली १ रुपैयाँ मात्र राहत स्वरुप उपलब्ध गराउन सके भने पनि ती पीडित व्यक्तिहरुको आलो घाउमा अवश्य मल्हम सरह हुनेछ । यो कार्य भोली पर्सी होइन आजैदेखि थालौ र सबै प्रवासी नेपालीहरुलाई राहत संकलन कार्यमा सहभागी बनाऔं । तत्काल हामीले त्यो डुवान क्षेत्रहरुमा बिचल्लीमा परेका नेपालीहरुलाई सहयोग गर्न सक्यौ भने अवश्य हामीले ठूलो कार्य गरेको ठहर्नेछ । प्रवासका विभिन्न क्षेत्रबाट यो कार्य अगाडि बढिरहेको छ र यसलाई अझै तीब्र गतिमा अगाडि बढाऔं । यो कार्य आज भोलि हैन अहिल्यैदेखि थालनी गरौं ।

यसै सिलसिलामा यूएईस्थित नेपाली दूतावासले एक प्रेस वक्तब्य प्रकाशित गरी सम्पूर्ण नेपालीहरुलाई राहत संकलन गर्नका लागि अनुरोध पनि गरिसकेको छ र कतिपयले राहत संकल गरिराखेका पनि छन् । दूतावासको अनुरोधलाई मनन् गर्दै यूएईमा रहेका सम्पूर्ण नेपालीहरुले राहत संकलनमा सहयोग गरी जति सक्दो छिटो रकम सम्वन्धित ठाउँमा पुर्‍याउनका लागि ठोस कदम चाल्न सम्बन्धित पक्षलाई घचघच्याऔं ।

बिगतका केही तीता घटनाहरुले पनि दैवी प्रकोप जस्तो दुखद घडीमा राहत संकलनमा बाधा आइपरेको छ । केही व्यक्तिहरुको भनाईमा हामीले दिन त दिन्छौ तर हामीलाई पूर्ण जानकारी हुनुहपर्दछ रकम पुगेको र सम्वन्धित व्यक्तिहरुले पाएको । गत बर्ष पनि बाढी पीडितका लागि रकम संकलन गरेको र अहिलेसम्म कुनै जानकारी पनि नपाएकाले त्यो पैसा सम्वन्धित ठाउँमा पुग्यो या पुगेन थाहा नै नभएको गुनासो पोखे । प्रवासी नेपालीहरुले संकलन गरेको राहत सम्वन्धित ठाउँमा पुगे नपुगेको थाहा नपाउने हो भने भविष्यमा स्वदेशमा अझै ठूलो आपत्ती आईपरेमा राहत संकलन कार्य गर्न अति कठिन हुने देखिन्छ ।

तसर्थ सम्वन्धित पक्षले रकम सम्वन्धित ठाउँमा पठाएको सूचना सबैलाई दियो भने अवश्य भविश्यमा राहत संकलन विश्वासनीय हुनेछ । यू.ए.ईमा अन्य विभिन्न बहानमा उठाइएको रकम सम्वन्धित व्यक्तिले समयमा नपाउनु र उठेको पैसा पनि राहत संकलनकर्ताले हिनामिना गर्नुले पनि राहत संकलनमा बाधा आईपरेको छ । यहाँ मात्र होइन यो समस्या विश्वभरि नै छरिएर रहेका नेपालीहरुको बीचमा रहेको छ । तसर्थ यो समस्यालाई तत्काल निराकरण गरी स्वदेशमा भएको धनजनको क्षतिलाई केही मात्रमा भए पनि सहयोग गरी मानवीय नाताको कदर गरौं र सबैले हातमा हात मिलाएर सहयोगको लागि आजैदेखि आव्हान गरौं ।

प्रवासमा नेपालीहरुले ठूलो मात्रामा धनराशीहरु अनायास रुपमा खर्च गरिराखेका हुन्छन् । नेपालीहरु पाँचतारे होटलमा गएर बियरको चुस्की लिंदै अर्धनग्न नृत्यको मज्जा लिई ठूलो धनराशी खर्च गर्न पछि पर्दैनन् तर राहत कार्यका लागि अनुरोध गर्दा ५ दिर्हाम दिन पनि दाँतबाट पसिना लिकाल्छन् । आखिर किन यस्तो ? ५ दिर्हाम मात्र हामीले राहत संकलनकोलागि दियौ भने पनि विदेशबाट सहयोग गर्ने नेपालीहरुमा हामी यू.ए.ई बासी प्रवासी नेपालीहरु सबैभन्दा अगाडि हुनेछौ । तर हामी ५ दिर्हाम्स् राहत संकलनमा दिन चाहन्नौ ५ सय दिर्हाम्स् अनायासमा खर्च गर्न भने हिचकिचाउँदैनौ यो तितो सत्य हो ।