Publications

  • Home
  • Publications
  • युएईसंग अवसरको ढोका – मोहन कृष्ण श्रेष्ठ (श्रोत: कान्तिपुर, विचार।विवेचना)

युएईसंग अवसरको ढोका – मोहन कृष्ण श्रेष्ठ (श्रोत: कान्तिपुर, विचार।विवेचना)



नेपाल तथा संयुक्त अरब इमिरेट्स (युएई) बीच दौत्य सम्बन्ध तीस वर्षसम्म औपचारिकतामा सीमित थियो । व्यापार रहे पनि नेपालबाट १५ करोडको निकासीभन्दा युएईबाट पाँच गुणा बढीको आयातका कारण व्यापार घाटा हुँदै आएको छ । सांस्कृतिक क्षेत्रमा कुनै सम्बन्धै थिएन । समयको फेरले यसमा परिवर्तन ल्याएको छ ।

यही जुलाई २ देखि तीन दिनको भ्रमणमा युएईका श्रममन्त्री डा अली विन अब्दुल्लाहले नेपालको सद्भावना आर्जन गरेका छन् । युएईमा श्रम मामिला विज्ञका रूपमा चिनिएका उनले नेपालबारे राखेको दृष्टि महत्त्वपूर्ण छ । युएईको जनसंख्या झन्डै ७ लाख भए पनि वैदेशिक कामदार ३५ लाखजति छन् । युएईले जाति/समुदायको सन्तुलनका लागि सबै विदेशीको कामको थलो बन्ने र पछिल्ला वर्षमा दक्षिण एसियालीमध्ये पनि नेपालीप्रति सकारात्मक दृष्टि राख्न थालेको छ ।

श्रममन्त्रीको भ्रमणले दुई देशबीच उच्चस्तरमा भिन्न मर्यादा र तहको सम्बन्ध विकास भएकाले आउने दिनमा द्विपक्षीय परिणाम ल्याउनेछ । प्रधानमन्त्रीदेखि परराष्ट्र, अर्थमन्त्रीतहसम्म भएका भेटघाट द्विपक्षीय कूटनीतिक, आर्थिक, सांस्कृतिक स्तर विस्तारित गर्ने मामलामा प्रभावकारी बन्ने आशा गर्न सकिन्छ ।

छोटो र व्यस्त भ्रमणमा रहे पनि श्रम मन्त्रीले माउन्टेन फ्लाइट, स्वयम्भू र पाटन दरबार स्क्वायर अवलोकनका अवसर छुटाएनन् । माउन्टेन फ्लाइटबाट उनी सबैभन्दा बढी मोहित र प्रभावित भएका थिए । नेपालको सौन्दर्य र प्रकृति उनका लागि बाँकी विश्वलाई सुनाउने विषय बनेको थियो । एक सन्दर्भमा सिंहदरबारलाई देखाएर नेपाली टोलीले भनेको थियो�’यो भवन १ सय वर्षअघि बनेको हो, जुनबेला न सिमेन्ट थियो, न क्रेन !’ यसो भन्दा डा. विनले� ‘हाम्रो देश त भर्खर ३६ वर्षको पठ्ठो पो रहेछ ।’

डा विनको भ्रमणको दोस्रो दिन नेपाल र युएईबीच श्रमसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भयो । यो दुई देशबीच श्रम सम्बन्धमा भएको पहिलो सहमति थियो । यसबाट श्रमसम्बन्धी क्रियाकलापमा कानुनी आधार तयार भएको छ । युएईमा नेपाली कामदारले भोग्ने समस्यामध्ये ठगी हो । खराब कम्पनीले भिसा शुल्कबापत पैसा माग्ने र नेपाली म्यानपावरले पनि लिने गरेकाले निमुखा नेपाली कामदार दोहोरो ऋणको मारमा परिरहेका हुन्छन् । यही कारण कामदार बीचैमा भाग्ने गरेका र अरू दुर्घटना निम्तने गरेका थिए । भिसामा नयाँ प्रविधिको प्रयोग गर्न सहमति भएकाले शोषणजन्य गतिविधि टुङ्गनिे आशा गर्न सकिन्छ । अवुधावीस्थित नेपाली दूतावासमा युएईका कम्पनीले नेपाली कामदारसम्बन्धी खबर दिनुपर्ने व्यवस्था समझदारी पत्रको अर्को सकारात्मक पक्ष हो । यस्तै नेपाली कामदारले अन्य विदेशी कामदारसरह युएईको प्रचलित नियमअनुसार हकहित तथा सुविधा पाउने र त्यसको संरक्षणका लागि श्रम अदालतमात्र नभई न्यायिक अदालतसम्म जानसक्ने प्रावधान अर्को उल्लेख्य पक्ष हो ।

प्रत्येक मुलुकले ३/३ जना प्रतिनिधि राखी परामर्श समिति बनाउने, समितिको आवश्यकताअनुसार काठमाडौं वा आवुधावीमा बैठक बस्नसक्ने प्रावधानबाट नेपाली कामदारका समस्या सुल्झाउन सकिने प्रभावकारी संयन्त्र निर्माण भएको छ । समझदारी पत्रको अवधि चार वर्षको हुने र पुनः चार वर्षका लागि स्वतः नवीकरण गर्न सकिने भएको हुँदा यसले एकैसाथ स्थायित्व पनि पाएको छ । भविष्यमा युएईले नेपाल सरकारसँग मिली सम्पर्क कार्यालय खोल्ने, युएई सरकारको स्वामित्वमा रहेको इत्तिहाद एयरवेजले यही अक्टोबर अन्त्यबाट आवुधावी-काठमाडौं प्रत्यक्ष हवाई सम्पर्क स्थापित गर्ने जस्ता निर्णय पनि सकारात्मक छन् ।

युएईको श्रम बजार पूर्णतया निजी क्षेत्रबाट सञ्चालित छ । सरकारले नीति बनाउँछ, सिंगो निजी क्षेत्रले त्यसअन्तर्गत काम गर्नुपर्छ । युएई सबल आर्थिक राष्ट्रका रूपमा विश्व मानचित्रमा उभिन सफल छ । नौ इमिरेट्स मिलेर बनेको यो देश सिंगो मध्यपूर्वको दोस्रो ठूलो आर्थिक व्यवस्था मानिन्छ । बजार भाउ निरन्तर वृद्धि छ । विदेशी श्रमिकको ज्याला कम भई कतै तालमेल नमिलिरहेको अनुभव हुन्छ । एक विशेषज्ञ टोली गठन गरेर ज्याला समेत पुनरावलोकन गर्ने सहमति भएको छ । यस्तै काठमाडौंमा खुल्ने युएई दूतावासले नेपाली श्रमिकको हकहित प्रबर्द्धन गर्ने आशा गर्न सकिन्छ ।

डा विनको सफल भ्रमणले संयुक्त अरब इमिरेट्स रोजगारीको सुरक्षित र भरपर्दो गन्तव्य बन्ने निश्चित छ ।। साथै आधुनिक प्रविधिबाट भिसा व्यवस्था गरिने भएकाले नेपाली कामदारले पाउने अनाहक दुःख र गलत तत्त्वले फाइदा उठाउन सक्ने अवस्था पनि हट्ने भएको छ । गरिबीको मारले पिल्सिएका दाजुभाइ-दिदीबहिनीले सस्तो तथा सुलभ तरिकामा रोजगारी पाई आफ्नो देशको इज्जत संयुक्त अरबमा देखाउन सक्ने छन् ।

(लेखक, आवुधावीस्थित नेपाली नियोगका कार्यबाहक राजदूत हुन् ।)

Posted on: 2007-07-10 19:46:34