Press Release

  • Home
  • Press Releases
  • अलपत्र परेका श्रमिकबारे एनआरएनएले सरकारलाई बुझायो १३ बुँदे ध्यानाकर्षणपत्र

अलपत्र परेका श्रमिकबारे एनआरएनएले सरकारलाई बुझायो १३ बुँदे ध्यानाकर्षणपत्र


विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणको कारणले संसारका विभिन्न ठाउँमा लाखौँ नेपाली अलपत्र परेका छन् । अलपत्र परेकाहरु मध्ये अधिकांश नेपालको अर्थतन्त्रमा एक तिहाई योगदान पुर्याउने वैदेशिक रोजगारी कामदारहरु छन् भने बाँकी मानव तस्करले अलपत्र पारेका, आफन्तलाई भेटन गएर अड्किएका, खर्चविहिन विद्यार्थीहरु तथा भिजिट भिसामा रहेका व्यक्तिहरु छन् । यस विषम परिस्थितिमा अलपत्र परेका मध्ये करिब २४ हजार नेपालीहरुलाई नेपाल फर्काउने सरकारको सैद्धान्तिक निर्णय स्वागत योग्य छ । यस निर्णयको कार्यान्वयनको चरण समेत सुरु भइसकेको प्रति हामी आभारी छौँ । यस प्रक्रियालाई थप तीव्रता दिन आग्रह गर्दछौँ । अलपत्र परेका व्यक्तिहरुको उद्दारको लागि सरकारको तर्फबाट देहाय बमोजिमका कदम यथाशक्य छिटो चाल्न विन्रम अनुरोध गर्दछौँ ।
गैरआवासीय नेपाली संघ तथा अन्य संघसंस्थाहरुको राहत एवं सहयोगले गाँस बाससम्मको जोहो गरिरहेका अलपत्र ती सबै नेपालीले हालकै अवस्थामा नेपाल सरकारले तोकेको सामान्य समयको भन्दा पनि धेरै महँगो भाडा तिरेर नेपाल फर्कन असम्भव छ । श्रम स्वीकृति बाहेक अन्य कारणले विदेशमा अलपत्र परेका नेपालीहरुलाई पनि स्वदेश फर्काउन दूतावास तथा संघको सहकार्यमा सस्तोमा चार्टर उडान गर्ने व्यवहारिक र सहज व्यवस्था मिलाउन आग्रह गर्दछौँ ।
अधिकांश कामदारसँग कोरोना कहर सुरु हुनु पुर्व नै रोजगारदाता कम्पनिले व्यवस्था गरिदिएको टिकट हातमा भएको र चार्टर उडानमा फर्कदा सो टिकट खेर जाने र विश्वका अधिकांश देशहरुमा नियमित उडान नै सञ्चालन हुन सुरु भइसकेकोले वैदेशिक रोजगारको मुख्य गन्तव्य देशहरुमा सिमित संख्यामा मात्रै भए पनि नियमित उडान सञ्चालन गर्न अनुरोध गर्दछौँ । नियमित उडान सुरु भएको खण्डमा पुरानो टिकटको प्रयोग हुने, भाडादर कम हुने तथा नेपालमा अड्किएका अन्य कामदारहरु पनि विदेश फर्कने बाटो खुल्ने तर्फ ध्यानाकर्षण गराउँदछौँ ।
मानव तस्करको कारणले विभिन्न देशमा अलपत्र परिरहेका तथा खर्च बिहिन भएका विद्यार्थीहरुलाई सरकारी खर्चमा तुरुन्त उद्दार गर्न आग्रह गर्दछौँ ।
क्यानाडा, युरोप तथा अफ्रिकाका धेरै देशहरुमा एउटै देशबाट जहाज नभरिने भएकोले अन्य देशसँग मिलाएर संयुक्त उद्दार उडानको व्यवस्था गर्न सकिने जानकारी गराउँदछौँ ।
फर्कने क्रममा एयरपोर्ट सम्म धेरै टाढाबाट यात्रा गर्नुपर्ने व्यक्तिहरुको लागि सम्बन्धित देशमा होल्डिग सेन्टरको प्रबन्ध मिलाइदिन आग्रह गर्दछौँ ।
पिसिआरमार्फत कोरोना टेष्ट गर्ने सुविधा नभएका देशहरुबाट सम्बन्धित देशका FIT to Flight सर्टिफिकेट अनुसार फिर्ता आउने व्यवस्था गरियोस् ।
कुवेत बाहेक अन्य देशहरुमा पनि आम माफी पाएर सेल्टरमा कुरिरहेका मजदुरहरुलाई नेपाल फर्कने स्वीकृति प्रदान गरियोस् ।
विभिन्न कारणले सम्बन्धित देशको नियम अनुसार बिना इजाजत श्रम गरिरहेका (Undocumented Migrants workers) कामदारहरुलाई उक्त देशको कुटनीतिक निकायसँग सहकार्य तथा अनुरोध गरि आम माफी (Amnesty) दिलाउने प्रबन्ध तुरुन्त गरियोस् ।
गर्भवती, नाबालक एवं बालबालिका सहित अन्य महिला, अशक्त तथा कोरोना बाहेक अन्य रोगले पिडित व्यक्तिहरु, परिवारलाई भेट्न अष्ट्रेलिया, न्युजिल्याण्ड, अमेरिका, क्यानाडा युरोप लगायतका देशमा आएका नेपालीहरुलाई प्राथमिकताको आधारमा उद्दार गरियोस् ।
विभिन्न देशमा कार्यरत भई हाल नेपालमा छुट्टीमा रहेका वैदेशिक रोजगारी कामदारहरुलाई रोजगारमा फिर्ता हुन श्रम स्वीकृत तथा अन्य सुविधा सञ्चालन गरियोस् ।
वैदेशिक रोजगारको क्रममा कोरोना बाहेक अन्य रोगले विदेशमा मृत्युवरण गरेका सयौंको संख्यामा रहेका शव तुरुन्त नेपाल झिकाई सांस्कृतिक परम्परा अनुसार दाह संस्कार गर्नको लागि परिवारलाई हस्तान्तरण गरियोस् ।
संघले एकल रुपमा प्रदान गरिरहेको राहत कार्यक्रममा वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत सरकारले संघसँग हातेमालो गर्न अति आवश्यक भइसकेकोतर्फ ध्यानाकर्षण गराउँदछौँ । अन्यथा संघले जम्मा गरेको सिमित श्रोत सकिने र पिडितहरु भोकै सडकमा सुत्नुपर्ने अवस्था आउने भएकोले यसतर्फ तुरुन्तै ठोस पहलकदमी लिइयोस् ।
वैदेशिक रोजगार ऐन २०६४ को कल्याणकारी कोष प्रयोग तथा सञ्चालन कार्यविधि दफा ३३ ख तथा नेपाल फर्काउने कार्यविधि दफा ७५ मा करार बमोजिमको सुविधा नपाएर तथा महामारीले विदेशमा अलपत्र परेका श्रम स्वीकृति लिएर गएका नेपालीहरुलाई नेपाल फर्काउने जिम्मेवारी वैदेशिक रोजगारीमा पठाउने एजेन्सी तथा रोजगार दाताको हुनेछ भनि उल्लेख रहेको स्मरण गराउँदै सो व्यवस्था अनुरुपको जिम्मेवारी बहन गराउन सम्बन्धित मन्त्रालय स्तरबाटै पहल गरियोस् । यसका साथै सम्बन्धित देशको दूतावासहरुलाई समेत यस विषयमा पहलकदमी लिन सचेत गराइयोस् । अन्यथा, अलपत्र परेका कामदारहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोषबाट फिर्ता गराउनु पर्ने अवस्था सिर्जना हुने भएकोले यस सम्बन्धमा यथाशक्य छिटो ठोस कदम चाल्न अनुरोध गर्दछौँ ।

माथि उल्लेखित समस्या समाधानको लागि संघ सरकारसँग सहकार्य तथा हातेमालो गर्न सदैव तैयार रहेको जानकारी दिलाउँदै उद्दारको काम तुरुन्त सञ्चालन गर्न अनुरोध गर्दछौँ ।

कुमार पन्त डा. बद्री के. सी.
अध्यक्ष उपाध्यक्ष एवं प्रमुख
वैदेशिक रोजगार तथा गैरआवासीय नेपाली कल्याणकारी हित विभाग

मिति १५ जुन २०२०