News

  • Home
  • News
  • वैदेशिक रोजगारी सम्बन्धी छलफल कार्यक्रम:

वैदेशिक रोजगारी सम्बन्धी छलफल कार्यक्रम:



गैरआवासीय नेपाली संघले वैदेशिक रोजगार राहत कोष उपसमितको पहलमा वैदेशिक रोजगार सम्बन्धी एक छलफल कार्यक्रम आयोजना गर्‍यो । कार्यक्रम वैदेशिक रोजगारको क्षेत्रलाई कसरी सुरक्षित तथा मर्यादित बनाउन सकिन्छ भन्नेमा छलफल केन्द्रित रहेको थियो ।
यसै विषयमा आधारित भएर नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षले वैदेशिक रोजगारको क्षेत्रलाई सुरक्षित र मर्यादित बनाउनका लागि सरोकारवाला संघ संस्थाहरुसंग छलफल गरिरहेको बताउनु भयो । अधिकाशं मुलुकहरुसंग श्रम सम्झौता नभएको कारणले वैदेशिक रोजगारमा जानेहरु गन्तव्य मुलुक पुगे पछि विभिन्न प्रकारका समस्या भोग्न बाध्य भएकाले नेपाल सरकारले विशेषत मध्यपूर्वका श्रम सम्झौता नभएका मुलुकहरुसंग श्रम सम्झौता गरेर श्रमिकहरु पठाउंदा बढी सुरक्षित हुने जानकारी गराउनु भयो । यसरी नै उहांले श्रमिहरु बाहिर जानु अघि उनीहरुले आफ्नो कार्यविवरण थाहा पाउनु जरुरी रहेको बताउनु भयो । उहांले संघको पहलमा व्यवसायिहरुले रोजगारीमा जानेहरुको परिवारको विवरण संकलन गर्न थालेको र भविष्यमा आवश्यक पर्दा यस्तो विवरणको उपलब्धताले वैदेशिक रोजगारीमा जानेहरुलाई सहयोग गर्न सहज हुने धारणा राख्नु भयो । साथै उहांले विदेशका रोजगारदाता कम्पनीले कामदारलाई टिकट उपलब्ध गराउने सन्दर्भमा यो प्रणाली हालको समयमा त्यति प्रभावकारी नभएको पनि जानकारी गराउनु भयो । उहांले वैदेशिक रोजगारको क्षेत्रलाई सुरक्षित र मर्यादित बनाउनको लागि आफ्नो संघ गैरआवासीय नेपाली संघ संग सहकार्य गर्न सदैव तयार रहेको र हाल यस क्षेत्रमा विद्यमान रहेका समस्याहरुलाई नेपाल सरकार संग पहल गरिदिनका लागि संघलाई अनुरोध पनि गर्नु भयो ।
यसरी प्रवासी नेपाली समन्वय समितिका महासचिव सोम प्रसाद लामिछानेले आफ्नो संस्थाले वैदेशिक रोजगारमा गरेका गतिविधिहरु बारे जानकारी गराउनु भयो । उहाले वैदेशिक रोजगारका करिव ८०० भन्दा बढी घटनाहरु आफ्नो संस्थाको जानकारीमा आएको र यसका समाधानका लागि पहल गरिरहेको पनि अवगत गराउनु भयो । उहांले वैदेशिक रोजगारबाट विविध समस्याहरु भएर फर्केका पूरुष कामदारहरुको लागि एउटा सेल्टरको स्थापना गरी सेवा प्रदान गरिहेको बताउनु भयो । । यसरी नै वैदेशिक रोजगारका दौरान विदेशमा गएर वेपत्ता भएका नेपाली कामादारका छोराछोरीलाई शिक्षा आर्जन गर्नमा सहयोग गरिरहेको पनि जानकारी गराउनु भयो । उहांले वैदेशिक रोजागारका लागि अमर्यादित तथा अव्यवस्थित तरिकाले कामदार भर्ती भईरहेको र यसलाई व्यवस्थित गर्नको लागि सरोकारवाला संस्थाहरु एक जुट हुनु पर्ने बताउनु भयो । यसरी नै विदेशमा रहेका नेपाली दूतावासहरुको कार्यक्षमतामा बृद्धि गर्नु पर्ने र वैदेशिक रोजगारमा गएकाहरुको तथ्यांक अद्यावधिक गराउनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रमको अन्त्यमा संघका सहकोषाध्यक्ष तथा वैदेशिक रोजगारका राहत कोष उपसमितिका संयोजक सोम नाथ सापकोटाले संघले आयोजना गरेको कार्यक्रममा सहभागी भई आफ्ना अमूल्य धारणा राखि दिनु भएकोमा उहांहरु प्रति हार्दिक आभार प्रकट गर्नु भयो । उहांले वैदेशिक रोजगारको क्षेत्रमा संघले गरेका गतिविधिहरु बारे जानकारी गराउंदै यस क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउनको लागि नेपाल सरकार र सरोकारवालाहरुसंग सहकार्य र समन्वय गरिने बताउनु भयो । उहांले वैदेशिक रोजगारमा गएर समस्या परेकाहरुका लागि संघ र संघमा आबद्ध भएका राष्ट्रिय समन्वय परिषदहरुले सहयोग गरिरहेको जानकारी पनि गराउनु भयो ।
कार्यक्रममा नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, प्रवासी नेपाली समन्वय समिति, नेपाल पर्यटन बोर्डका बरिष्ठ प्रबन्धक, Trekking Agencies’ Association of Nepal का  प्रमुख कार्यकारी अधिकृत तथा सरोकारवाला संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
गैरआवासीय नेपाली संघ ।
मिति : २० जुन २०१८ ।