News

  • Home
  • News
  • लाप्राक नमूना वस्तीका निर्माणाधिन घरहरु लाभग्राहीलाई आवण्टन

लाप्राक नमूना वस्तीका निर्माणाधिन घरहरु लाभग्राहीलाई आवण्टन



हिजो सन् २०१८ मार्च ४ का दिन गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङ्गको समुपस्तिथितिमा लाप्राक नमूना वस्तीका निर्माणाधिन घरहरु कुन लाभग्राहीलाई कुन क्षेत्रको कुन नम्वरको घर पर्ने हो गोलाप्रथा द्वारा निर्धारण गरिएको छ । संघका अध्यक्ष भवन भट्टले एक वर्ष अघि घर निर्माण सम्बन्धी समझौता गरेका लाभग्राहीहरुलाई निर्माण कार्यमा सहभागीता गराउन गोलाप्रथा मार्फत उनीहरुको घर छुट्याईएको हो भन्ने बताउनु भयो । साथै उहाँले अब आउने गैरआवासीय नेपाली दिवसको अवसरमा सबै घरहरुको निर्माण सकेर औपचारिक हस्तान्तरण गर्ने लक्ष्य राखेको हुँदा निर्माण कार्यलाई तिव्र पार्नकोलागि समेत स्थानीय सहभागीता बढाउन घर छुट्याईएको हो भन्ने जानकारी गराउनु भयो । यो कार्य आधिकारीक रुपमा घर हस्तान्तरण नभई पुनर्निर्माणमा भूकम्प पिडितको आफ्नोपन होस भनेर छुट्याईएको र पुनर्निर्माणमा आफ्नो घरमा लागग्राहीको थप सहयोग प्राप्त हुने उहाँले विश्वास व्यक्त गर्दै सम्पूर्ण निर्माण प्रकृया सम्पन्न भएपछि मात्र आधिकारीक रुपमा हस्तान्तरण गरिने बताउनु भयो।

यसैगरी संघका उपाध्यक्ष सपीला राजभण्डारीले अब आउने गैरआवासीय नेपाली दिवसमा सबै घर निर्माण गरी हस्तान्तरण गरिने योजना रहेको हुँदा निर्माण कार्य सोही अनुरुप तिव्र रुपमा भईरहेको जानकारी दिनु भयो । साथै उहाँले अब सबै लाभग्राहीहरुको प्रमाण चेक जाँच गरी औपचारिक रुपमा घर निर्माण सकिए पछि हस्तान्तरण गरिने जानकारी गराउनु भयो ।

धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङ्गले लाप्राक नमूना वस्तीको निर्माणमा गैरआवासीय नेपाली संघले गरेको योगदान प्रति आभार प्रकट गर्नु हुँदै उहाँले निर्माण कार्य समयमै सम्पन्न गर्न स्थानीय वासी र आफ्नो तर्फबाट भरपुर सहयोग रहने र लाप्राक भेदभाव बिनाको एक नमूना वस्ती बन्ने धारणा राख्नु भयो।

सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितमा गत् २०७३ साल वैशाख १२ गतेका दिन लाप्राकमा नेपला सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणऽ शहरी विकास मन्त्रालय र गैरआवासीय नेपाल संघको त्रिपक्षिय सम्झौता भएपछि लाप्राकमा निर्माण कार्यको सुरुवात भएको थियो । यसै सन्दर्भमा लाप्राकमा एक वर्ष अगाडी गैरआवासीय नेपाली संघले पुनर्निमार्णाका लागि लाभग्राही संग भएका काठ, माटो ढुंगा र अन्य निर्माण कार्यमा काम लाग्ने सामग्रीहरुका साथै उनीहरुको सहभागीता सुनिश्चित गराउन उनीहरुसंग सम्झौता गरिएको थियो । हाल निर्माणाधीन घरहरु क्लस्टर अनुसार छुट्टाइएको छ ।

यस परियोजनाको निर्माण कार्यमा सहयोग गर्नको लागि नेपाली सेनाको एक टोली नै परियोजना स्थलिभित्र रही कार्यरत रहि आएको छ । यस अलावा नेपाल सरकार स्थानीय सरकार र स्थानीय समुदायले यस परियोजना समयमै सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । आजको कार्यक्रममा संघका अध्यक्ष र उपाध्यक्ष, धार्चे गाउँपालिका अध्यक्षको अतिरिक्त नेपाली सेनाको प्रमुख सेनानी चन्दनसिंह थापा, सेनानी गणेशमान सिंह बस्नेत, गैरआवासीय नेपाली संघ मानार्थ समितिका सदस्य सुभाष अधिकारी र संघका प्रमुख कार्यकारी अधिकृत डा हेमन्त दवाडी लगायत स्थानीय जनप्रतनिधिको सहभागीता रहेको थियो ।

गैरआवासीय नेपाली संघ सचिवालय ।