News

  • Home
  • News
  • लाप्राक नमूना बस्तिको अवलोकन तथा निरिक्षण भ्रमण २८-२९ अक्टोवर २०२०

लाप्राक नमूना बस्तिको अवलोकन तथा निरिक्षण भ्रमण २८-२९ अक्टोवर २०२०



लाप्राक नमूना बस्ति परियोजनाका संयोजक तथा गैरआवासीय नेपाली संघका उपाध्यक्ष, सोनाम लामाको नेतृत्वको एक प्रतिनिधि मण्डलले परियोजना स्थलको भ्रमण गरि कार्यप्रगतिको समिक्षा गर्‍यो । झण्डै साढे तीन महिना बर्षाको कारण परियोजना स्थलसम्म पुग्ने बाटो बन्द भएकोमा मिति २/०७/२०७७ देखि बाटो खुला भएको थियो ।

लाभग्राहि र धार्चे गाउँपालिकाका अध्यक्ष, सन्तोष गुरुङ्ग संग संघका प्रतिनिधि मण्डलले एक बैठक गरी कार्यप्रगतिको समिक्षा गर्‍यो र आगामी दिनमा परियोयोजनाको अन्तिम कामहरु कसरी छिटो भन्दा छिटो सम्पन्न गर्ने बिषयमा छलफल भयो । कतिपय लाभग्राहिहरु आ-आफ्नो घरको अन्तिम चरणका निर्माण कार्यहरुमा संलग्न हुँदै गरेका देखियो र करीव ३० घरहरुमा लाभग्राहिहरु बसोवास गर्न थालिसकेका समेत थिए र राष्ट्रिय पूनर्निमाण प्राधिकरणले दक्षिण तर्फ बाटोमा रिटेन्सन वाल र नाला समेत निमार्ण गरेको छ । यसरी लाभग्राहीहरु आफ्नो घर निर्माणमा आफैले निर्माण सामग्रीहरुको व्यवस्था गर्दै निर्माण कार्यमा स्वयंम संलग्न भएकाले छिटै घरहरुमा आफै बसोबास गर्ने जानकारी गराए ।

बाटो खुला भएकोले अन्तिम चरणको निर्माण कार्यको लागि आवश्यक निर्माण समाग्रीहरु संघले एक दुई दिन भित्र निर्माण स्थलमा पुर्‍याउने र लाभग्राहिहरुले संघ र धार्चे गाउँपालिका बीच भएको सम्झौता अनुसार निर्माण कार्य छिटो सक्ने गरी कामको थालनी गर्ने र वडा कार्यालयको सिफरिस अनुसार निर्माण सम्पन्न भएका कार्यहरुको संघले भुक्तानी दिने निर्णयहरु भयो । यसै गरी लाभग्राहिहरुलाई जग्गा धनि पूर्जा उपलब्ध गराउने कार्य अन्तिम चरणमा पुगेको र  त्यसको लागि लाभग्राहिहरु स्वयम् अग्रसर हुन पर्ने भएकोले, निशुल्क मिटर र बस्तिमा विद्युतिकरण गर्न गाउँपालिकाले पहल गर्ने सहमति समेत भयो ।

बैठकमा झण्डै पचास घरधूरीका लाभग्राहिहरु र संघको तर्फबाट परियोजनाका सह–संयोजक श्याम तामाङ्ग, संघका कार्यकारी निर्देशक र परियोजना स्थलमा रहेका परियोजनाका कार्मचारीहरुको सहभागीता रहेको थियो ।

गैरआवासीय नेपाली संघ, सचिवालय ।

मिति: ३० अक्टोवर २०२०