News

  • Home
  • News
  • योजना आयोगका उपाध्यक्ष,परराष्ट्र सचिव र कृषि सचिवसंग भेटघाट

योजना आयोगका उपाध्यक्ष,परराष्ट्र सचिव र कृषि सचिवसंग भेटघाट



कार्तिक २२ काठमाण्डौ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको नेतृत्वमा गएको संघको प्रतिनिधि मण्डलले राष्ट्रिय योजना आयोगको नवनियुक्त उपाध्यक्ष डा. युवराज खतिवडासंग भेट गर्‍यो । उपाध्यक्षमा नियुक्त हुनु भएकोमा संघको तर्फबाट बधाई दिंदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नु भयो ।  अध्यक्ष घलेले उपाध्यक्षको अध्यक्षतामा गठन गरिएको गैरआवासीय नेपाली बोर्डको बैठक आयोजना गर्न अनुरोध गर्दै यस बोर्डको निर्णय अनुसार गैरआवासीय नेपाली ऐन २०६४ लाई परिमार्जन गर्न गठित समितिको प्रतिवेदन माथि छलफल गर्न अनुरोध समेत गर्नु भयो । 

 

अध्यक्ष घलेले संघले भूकम्पको समयमा पुर्‍याएको राहतको प्रतिवेदन तथा शहरी बिकास मन्त्रालय, शहरी बिकास तथा भवन निर्माण विभागसंग भुकम्प पीडितका लागि १००० घर निर्माण गर्न भएको सम्झौताबारे अवगत गराउँदै यस कार्य छिटो भन्दा छिटो संचालन गर्न सकिने वातावरणको लागि पहल गर्न समेत अनुरोध गर्नु भयो । उपाध्यक्ष खतिवडाले संघको अध्यक्षमा पुन: निर्वाचित हुनु भएकोमा अध्यक्ष तथा सम्पूर्ण कार्यसमितिका पदाधिकारीहरुलाई वधाई दिंदै राष्ट्र यस कठिन अवस्थाबाट गुज्रिरहेको समयमा गैरआवासीय नेपालीहरुबाट अतिआवश्यक बस्तुहरु हवाई मार्गबाट आपूर्ति गर्न सहयोग गर्न अनुरोध गर्दै यस बिषयमा छिट्टै संघका पदाधिकारीहरुसंग बैठक राख्ने वताउँदै पुन:निर्माणमा राष्ट्रिय योजना आयोगले संघलाई आवश्यक सहयोग गर्ने वताउनु भयो । 

 

एनआरएन प्रतिनिधिमण्डल र परराष्ट्र सचिववीच भेट

यसैगरी सो प्रतिनिधि मण्डलले परराष्ट्र सचिव शंकर बैरागीसंग भेट गरी राष्ट्रलाई आइपरेको यस अकल्पनिय घडिमा संघले कसरी सहयोग गर्न सक्छ भन्ने बिषयमा छलफल गर्‍यो ।

 

 

सचिव बैरागीले सर्वप्रथम गैरआवासीय नेपालीहरुले अतिआवश्यक बस्तुहरु हवाई मार्गबाट आपूर्ति गर्न व्यवस्था मिलाई सहयोग गर्न सक्ने सुझाव दिंदै कूटनीतिक मर्यादा भित्र रहेर राष्ट्रलाई आईपरेको यस मानविय संकटबारे सम्बन्धित देशका सरकार, त्यस देशका जन्ता तथा त्यहाँ रहेका भारतीय समुदायमाज यसको जानकारी गराउन अनुरोध गर्नु भयो ।  सचिव बैरागीले नेपालले यस समस्याको दिर्घकालिन समाधानको उपायहरु अवलम्वन गर्ने जानकारी गराउँदै प्रविधि हस्तान्तरणमा समेत सहयोग गर्न संघमार्फत् सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई अनुरोध गर्नु भयो ।

 

संघका अध्यक्ष घलेले यस बिषयमा संघले सुरुमै बिज्ञप्ती निकालेको र केहि राष्ट्रिय समन्वय परिषद्हरुले सम्बन्धित देशका सरकार, भारतीय दूतावास र संयुक्त राष्ट्र संघका निकायहरुमा समेत ज्ञापन पत्र बुझाएको जानकारी गराउँदै यो समस्याले यति बिकराल रुप नलिने बिश्वास लिएकोमा अबका दिनमा सचिवज्यूको सूझावहरुलाई मनन् गर्दै अघि बढ्ने वताउनु भयो ।

 

कृषि सचिवसंग भेट

यसै अवसरमा सो प्रतिनिधि मण्डलले कृषि सचिव उत्तमकुमार भट्टराईसंग पनि भेट गरी कृषिजन्य उत्पादनमा राष्ट्रलाई कसरी आत्मनिर्भर गर्न सकिन्छ भन्ने बिषयमा गैरआवासीय नेपालीहरु सहयोग गर्न तयार रहेको जानकारी गराउँदै अध्यक्ष घलेले गैरआवासीय नेपालीहरुले बिदेशबाट फर्केर नेपालमा नमूूना कुषि व्यवसायहरु संचालनमा ल्याएको अवगत गराउनु भयो ।

 

सचिव भट्टराईले यस क्षेत्रमा राष्ट्रले गैरआवासीय नेपालीहरुको निकै आशा गरेको र बिदेशमा सिकेको ज्ञान तथा सिप नेपालमा उपयोग गरी कृषि क्षेत्रको बिकास तथा प्रविधि हस्तान्तरणमा ठूलो सहयोग गर्न सक्ने औंलाउनु भयो । उहाँले यस बिषयमा बृहत छलफल गर्न संघका प्रतिनिधिहरुसंग एक अन्तरक्रिया कार्यक्रम समेत राख्न मन्त्रालय इच्छुक रहेका अवगत गराउँदै राष्ट्रको कृषि क्षेत्रका उथान गर्न संघ तत्पर रहेकोमा धन्यवाद व्यक्त गर्नु भयो । प्रतिनिधि मण्डलमा संघका कोषध्यक्ष हिक्मत थापा, अमेरिका क्षेत्रीय उपसंयोजक एसी शेर्पा, निवर्तमान सचिव रञ्जु थापा, एनआरएन बरहाइनका पूर्व अध्यक्ष श्याम तामाङ्ग, अमेरिकाका एनहारएन पासाङ्ग लामा तथा संघका कार्यकारी निर्देशकको सहभागिता थियो ।

 

गैरआवासीय नेपाली संघको सचिवालय, काठमाण्डौं ।