News

  • Home
  • News
  • नेपाली श्रमिकको समस्या लिएर गैरआवासीय नेपाली संघ र IOM बीच छलफल

नेपाली श्रमिकको समस्या लिएर गैरआवासीय नेपाली संघ र IOM बीच छलफल



कोरोना भाइरस (कोभिड–१९) बाट विदेशमा अलपत्र परेका नेपाली श्रमिकको समस्यालाई लिएर गैरआवासीय नेपाली संघले  IOM संग छलफल गरेको छ । गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार IOM सँग संघका अध्यक्ष कुमार पन्त सहितको टोलीले छलफल गरेको हो ।

बुधवार भिडियो कन्फ्रेन्समार्फत् भएको छलफलमा संयुक्त राष्ट्र संघ अन्तर्गत नेपाल मिसनकी प्रमुख लोरेना लान्डाले IOM विदेशमा रहेका नेपालीको उद्दारका लागि सहयोग गर्न इच्छुक रहेको जानकारी दिएकी थिइन् ।

लान्डाले कोरोना भाइरसको संक्रमणका कारणले नेपाल फर्किएका नेपालीलाई विमानस्थलबाट होल्डिङ्ग सेन्टरसम्म लैजानसमेत सहयोग गर्न सकिने बताएकी थिइन् ।
आइओएमले विश्वभरिका Migrant श्रमिकका लागि सहयोग गर्दै आएको स्मरण गर्दै उनले नेपाल सरकार र गैरआवासीय नेपाली संघसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाइन् ।

झन्डै दुई घन्टा लामो छलफलमा गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले गैरआवासीय नेपाली संघ र कोभिड–१९ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
डा. शर्माले संघको भूमिका र कोभिड–१९ को प्रभावमा परेका नेपालीका बारेमा आफ्ना भनाइ राख्दै संयुक्त राष्ट्रसंघका सबै पक्षलाई सहयोगको लागि आग्रह गरेका थिए । झन्डै ८० लाख नेपाली विदेशमा रहेको बताउँदै डा. शर्माले IOM र संघबीच धेरै समान अजेन्डा रहेको बताएका थिए । उहाँले IOM सँग नेपाल फर्किएका श्रमिकको पुनरस्थापना, कार्य क्षमता संकलन लगायत अन्य धेरै विषयमा संयुक्त रुपमा काम गर्न सकिने बताउनु भएको थियो ।
बैठकमा सांसद गंगालाल तुलाधारले कोभिड–१९ ले नेपालमा पारेको प्रभावको विषयमा जानकारी गराएका थिए । संघ अन्तरगतको एनआरएनए फाउन्डेशन परियोजना प्रमुख एकनाथ खतिवडाले बैठकको समन्वय गर्नु भएको थियो ।
गैरआवासीय नेपाली संघका अनुसार IOM प्रमुख लान्डाले तत्काल दुई संस्थाबीच समान धारणा तय गरी सम्झौता गरेर अघि बढ्न सकिने बताएकी थिइन् ।
नेपालले सन् २००६ मा इन्टरनेश्नल अर्गनाइजेशन फर माईग्रेसनको सदस्यता लिएपछि सो संस्था सन् २००७ देखि नेपालमा आप्रवासीहरुको हक र हितको लागि सक्रिय छ ।
IOM ले नेपालमा २०७२ मा भूकम्प गएको बेला देशका विभिन्न भागमा स्वास्थ्य शिविर सञ्चालन गरेर पीडितलाई सहयोग गरेको थियो ।