News

  • Home
  • News
  • गैरआवासीय नेपाली संघ र राष्ट्रिय खेलकुद परिषदबीच सम्झौताः

गैरआवासीय नेपाली संघ र राष्ट्रिय खेलकुद परिषदबीच सम्झौताः



नेपालमा आयोजना राष्ट्रिय स्तरमा हुने खेलकुद प्रतियोगितामा गैरआवासीय नेपाली खेलाडी सहभागी गराउने सम्बन्धमा गैरआवासीय नेपाली संघ र राष्ट्रिय खेलकुद परिषदबीच सम्झौता भएको छ । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा राष्ट्रिय स्तरमा आयोजना हुने खेलकुद प्रतियोगिताहरुमा गैरआवासीय नेपाली खेलाडीहरु सहभागी गराई प्रतिभा प्रस्तुत गर्ने आधार तयार गर्ने उद्देश्यले सम्झौता गरिएको हो । संघका तर्फबाट अध्यक्ष भवन भट्ट र राष्ट्रिय खेलकुद परिषदका तर्फबाट सदस्यसचिव केशव कुमार विष्टले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार संघ र परिषदले नेपाली खेलकुद क्षेत्रको विकासका लागि संयुक्त रुपमा नीति नियमको निर्माण, स्रोत साधनको विकास तथा योजना कार्यक्रम तर्जुमा गर्ने सहमति गरिएको छ । यस्तै परिषदले आयोजना गर्ने राष्ट्रियस्तरका खेलकुद प्रतियोगिताहरुमा संसारभर रहेका सम्पूर्ण गैरआवासीय नेपाली खेलाडीहरुको सहभागिता सम्बन्धि व्यवस्था एकद्वार प्रणाली अनुसार गैरआवासीय नेपाली संघ मार्फत गरिने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

परिषदले आयोजना गर्ने राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिताहरुमा गैरआवासीय नेपाली संघले जारी गरेको परिचय पत्र वा परराष्ट्र मन्त्रालयले जारी गरेको गैरआवासीय नेपाली परिचयपत्रका साथै संघको सिफारिसको आधारमा खेलको नियम अनुसार गैरआवासीय नेपाली खेलाडी सहभागी हुने व्यवस्था समेत मिलाइने भएको छ ।

गैरआवासीय नेपाली खेलाडीले अरु स्थानीय नेपाली खेलाडी सरह सेवा सुविधा पाउनेछन् । परिषदका विभिन्न खेलकुद सम्बन्धि गतिविधि एवं संरचनाहरुमा नेपाल बाहिर रहेर प्रवासमा सिकेको खेलकुद सम्बन्धि नवीनतम सिप, प्रविधि र कौशल नेपालमा भित्र्याउन संघले सहयोग गर्ने सहमति समेत गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषदको कार्यकारी परिषदमा गैरआवासीय नेपाली संघका तर्फबाट अन्तर्राष्ट्रिय समन्व परिषदका युवा संयोजक पदेन सदस्यका रुपमा गैरआवासीय नेपाली संघको प्रतिनिधिका रुपमा व्यवस्था गरिएको छ । त्यस सम्बन्धमा परिषदको विद्यमान ऐनमा आवश्यकता अनुसार संशोधन परिवर्तनको पहल गरिने सम्झौता पत्रमा उल्लेख छ ।
यस्तै संघका तर्फबाट अन्तर्राष्ट्रिय युवा संयोजक र परिषदका तर्फबाट तोकिएका एक अधिकारी सम्मिलित दुई सदस्यीय टोलीले नै राष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा गैरआवासीय नेपालीका सहभागिताका लागि संयोजनकारी भूमिका खेल्नेछ ।

संघका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद तथा परिषदका तर्फबाट कार्यकारी परिषद नै विभिन्न गतिविधिलाई कार्यन्वयनका लागि अन्तिम मान्यता दिने निकाय हुने सहमति गरिएको छ ।

संघ र परिषदको संयुक्त गतिविधि समेटी वार्षिक रुपमा एक प्रतिवेदन तयार गर्ने, गैरआवासीय नेपाली खेलाडीहरुको सहभागिता र गैरआवासीय नेपाली खेलाडीको प्रतिनिधित्व गर्ने गरि विभिन्न खेलकुद क्लब दर्ता एवं संचालनका लागि हाल विद्यमान ऐन नियमहरुमा आवश्यकता अनुसार परिषदले संशोधनको प्रक्रिया अगाडी बढाउने र त्यसरी संचालन हुने क्लब गैरआवासीय नेपाली संघको वैधानिक निर्णय एवं सिफारिसमा परिषदले दर्ता गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ ।

गैरआवासीय नेपाली संघ ।