News

  • Home
  • News
  • गैरआवासीय नेपाली संघ कोभिड १९ तथ्यांकः अपडेट १५

गैरआवासीय नेपाली संघ कोभिड १९ तथ्यांकः अपडेट १५



– यो साता थप १ जनाको मृत्यु, कोरोनाका कारण विदेशमा ज्यान गुमाउने १६१ जना पुगे
– सरकारले होम क्वारेन्टिनमा राख्दा समुदायमा कोरोना फैलिन सक्ने  जोखिम : विज्ञ
– ३४ हजार ८ सय ३० जना नेपालीको उद्धार
– विदेशबाट अझै ९४ वटा शव नेपाल ल्याउन बाँकी
–  विश्वभर ज्यान गुमाउने नेपालीको संख्या २ सय ६
विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता थप १ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका अनुसार यो साता यूकेमा १ जनाको निधन भएको हो । गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार शनिवार साँझ सम्म विदेशमा मात्र १ सय ६१ जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ ।
समितिका अनुसार अनुसार ३६ मुलुकमा रहेका ३१ हजार १ सय ५० कुल संक्रमित मध्ये  २९ हजार २ सय ४३ जना अर्थात ९३ प्रतिशत  भन्दा बढी नेपालीहरु कोरोना संक्रमणमुक्त भएका छन् ।  अघिल्लो साता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये अधिकांश संक्रमणमुक्त भएपनि यो साता त्यहाँ संक्रमणदर केही बढेको छ । यस्तै यूएई, कतार, कुवेत र  साउदी अरबमा रहेका नेपालीमा पनि यो साता संक्रमण बढेको छ ।
संघका अनुसार  नेपालमा ज्यान गुमाएका ४५ जनासहित विश्वभर ज्यान गुमाउने नेपालीको संख्या २ सय ६ जना पुगेको छ । नेपालमा शनिबार साँझसम्म संक्रमितको संख्या १८ हजार ४ सय ८३ जना पुगेको छ ।
यसैबीच स्वास्थ्य समितिले सार्वजनिक स्थलमा जाँदा, र सवारी साधन प्रयोगका क्रममा अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड सम्बन्धमा विशेष मार्गदर्शन समेत तयार पारेको छ । समितिले सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न समेत सुझाएको छ ।
विदेशमा अलपत्र ३४ हजार ८ सय ३० जना नेपालीको उद्धार
यो सातासम्म ३४ हजार ८ सय ३० जना नेपालीको उद्धार गरिएको छ । गैरआवासीय नेपाली संघ, विदेशस्थित कूटनीतिक नियोग एवं नेपाल सरकारको सहकार्यमा  विभिन्न २५ वटा मुलुकमा कोरोना भाइरसको संक्रमणका कारण प्रभावित नेपालीलाई स्वदेश फर्काइएको हो ।
यद्यपी, साउन ८  गते बिहिबारबाट नेपाल सरकारले तत्कालका लागि उद्धार उडान स्थगित गरेको छ । आगामी भदौ १ गतेबाट पुनः नियमित उडान हुनेछ ।
विदेशबाट अझै ९४ वटा शव नेपाल ल्याउन बाँकी
यस्तै मलेसिया, साउदी, कतार, युएई, कुवेत, बहराइन, ओमान, दक्षिण कोरिया लगायतका देशबाट यो सातासम्म २ सय १६ वटा शव नेपाल पुर्याई परिवारलाई बुझाइएको छ ।
विदेशमा विभिन्न कारण ज्यान गुमाएका ४ सय ७४ जनामध्ये १ सय ६५ जनाको परिवारको सहमतिमा गन्तव्य मुलुकमा अन्त्येष्टि गरिएको छ । विदेशबाट अझै ९४ वटा शव नेपाल ल्याउन बाँकी छ ।
उच्चस्तरीय समितिको बैठक सम्पन्न
यसैबीच गैरआवासीय नेपाली संघ (एनआरएनए) को कोभिड–१९ उच्चस्तरीय समितिको बैठक २५ जुलाई २०२० शनिवार सम्पन्न भएको छ । अध्यक्ष तथा उच्चस्तरीय समितिका संयोजक कुमार पन्तको अध्यक्षतामा बसेको बैठकले कोभिड–१९ सुरु भएदेखि समितिले गरेका गतिविधीको समिक्षा गर्नुका साथै आगामी रणनीति तय गरेको छ । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पन्तले कोरोना भाइरस (कोभिड १९) को महामारीमा विश्वभर छरिएका राष्ट्रिय समन्वय परिषद् (एनसीसी)को निर्वाह गरेको भूमिका महत्वपूर्ण भएको बताउनुभयो । उहाँले विदेशमा रहेका नेपाली समुदायले व्यहोर्नु परेको अप्ठ्यारो र संवेदनशिल यस घडीमा मलम लगाउने काम भइरहेको भन्दै यस कार्यलाई निरन्तरता दिन समेत आग्रह गर्नुभयो ।  आइएलओले गरेको ५ करोड रुपैयाँको सहयोगले संघले नेपालीको मात्र नभएर अन्तर्राष्ट्रिय समुदायले समेत विश्वास गर्ने वातावरण  बनेको भन्दै यसले सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गर्नुभयो । उहाँले कोरोना भाइरसका कारण विदेशबाट नेपाल फर्किएका नेपालीहरुको लागि विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
बैठकमा महासचिव डा. हेम राज शर्माले कोरोना भाइरसको महामारीमा ५० देशमा २१ सय स्वयंसेवक खटिरहेको जानकारी दिनुभयो । उहाँले संघका विभिन्न देशमा स्थापना गरिएका कल सेन्टरमा मार्फत ८१ हजार भन्दा बढीले परामर्श लिएको   बताउनुभयो ।
बैठकमा स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाले गैरआवासीय नेपालीहरुमा कोरोना प्रभावबाट बच्न र बचाउनका लागि भइरहेका प्रयास र जोखिम बढ्दै गएको पछिल्लो समयमा अपनाउनुपर्ने सावधानीका  बारेमा आफ्नो धारणा राख्नुभएको थियो । बैठकमा बोल्ने वक्ताहरुले कोरोना भाइरसको जोखिम अझै बढेकोले ढुक्क भएर बस्न नहुने र आफूले सावधानी अपनाए मात्रै अरुलाई पनि संक्रमणबाट जोगाउन सकिन्छ भन्ने भावना मनन गर्नुपर्नेमा जोड दिएका थिए  । बैठकमा सहभागितहरुले नेपालमा फर्किकाहरुलाई सरकारले होम क्वारेन्टिनमा राख्दा समुदायमा कोरोना फैलिन सक्ने  जोखिम अझै बढेको बताउँदै त्यस सम्बन्धमा आवश्यक सावधानी अपनाउन  उनीलाई सचेत बनाउनुपर्नेमा जोड दिएका थिए ।
‘कोभिड १९’ उच्चस्तरीय समिति, गैरआवासीय नेपाली संघ