News

  • Home
  • News
  • गैरआवासीय नेपाली संघद्वारा अत्याबश्यक औषधि हस्तान्तरण

गैरआवासीय नेपाली संघद्वारा अत्याबश्यक औषधि हस्तान्तरण



काठमाण्डौ । नाकाबन्दीका कारण अस्पतालमा अत्याबश्यक औषधिको अभाव भएपछि गैरआवासीय नेपाली संघले सरकारलाई अत्याबश्यक औषधिहरु हस्तान्तरण गरेको छ ।

 

स्वास्थ्य सेवा बिभाग टेकुमा मंगलबार आयोजित बिशेष कार्यक्रममा संघका अध्यक्ष श्री शेष घलेले नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री श्री रामजनम चौधरीलाई औषधि हस्तान्तरण गर्नुभयो । संघले पहिलो चरणमा ३८ लाख मूल्य बराबरको औषधि हस्तान्तरण गरेको छ । समारोहमा बोल्दै अध्यक्ष श्री घलेले मातृभूमीको दु:खमा मल्हम लगाउने कोसिस स्वरुप गैरआवासीय नेपाली संघले पहिलो चरणको औषधि हस्तान्तरण गरेको बताउनु भयो ।

 

 

‘हामीले त प्लेन नै चार्टर गरेर बिदेशबाट औषधि ल्याएर दुई तीन महिनालाई पुग्नेगरी दिउा भनेर तयारी थालेका थियौं ।’ अध्यक्ष घलेले भन्नुभयो– तर, औषधि आयातमा हाम्रै नीति नियम र अन्य प्रशासनिक जटिलताका कारण हामीले एकैचोटी सवै औषधि ल्याउन सकेनौं ।’ अस्पतालमा सल्यक्रिया रोकिने र औषधि अभावमा बिरामीहरुले ज्यान गुमाउने अबस्था नआवोस् भनेर उपलब्ध भएजति औषधि पहिलो चरणमा दिइएको र केही दिनमै थप औषधि सरकारलाई हस्तान्तरण गरिने उहाँले जानकारी दिनु भयो । चीन, भारत र बंगलादेशमा खरिद गरिएको औषधि नेपाल आउनेक्रममा रहेको उहाँले जानकारी दिनुभयो । स्वास्थ्यमन्त्री श्री चौधरीले सरकारको आग्रह अनुसार गैरआवासीय नेपालीहरुले गरेको सहयोगप्रति आभार प्रकट गर्नु भयो । एनआरएनले दिएको औषधिका कारण तत्कालको अभाव पूर्ति हुने र आगामी दिनमा पनि एनआरएनबाट यस्तै सहयोग अपेक्षा गरेको उहाँले बताउनुभयो । गैरआवासीय नेपाली संघले अध्यक्ष घलेको नेतृत्वमा औषधि तथा अत्यबश्यक बस्तु आपूर्तिमा सहयोग गर्न आपतकालिन सहयोग समिति गठन गरेको थियो । समितिमा रहेर औषधि ब्यबस्थापनमा महत्वपूर्ण भूमिका खेल्नुभएका नेपालका बरिष्ठ चिकित्सक डा. भगवान कोइरालाले एनआरएनले दिएको औषधिले चार हप्तासम्म काठमाण्डौ भित्र र बाहिरका सरकारी अस्पताल संचालनकालागि सजिलो हुने बताउनुभयो । गैरआवासीय नेपाली संघको पछिल्लो वैठकले नाकाबन्दीलाई अन्तराष्ट्रियकरण गर्दै नेपालमा उत्पन्न मानवीय संकट समाधानका लागि औषधि र अत्याबश्यक सामाग्री सहयोग गर्ने निर्णय गरेको थियो । सोही अनुसार बिभिन्न देशहरुमा गैरआवासीय नेपाली संघको अगुवाईमा नाकाबन्दीको अन्तराष्ट्रियकरण गर्ने कार्यक्रमहरु भइरहेको छ र यस्ता कार्यक्रममा संघका तर्फबाट प्रयोगमा ल्याईने संदेशको पनि मन्त्रीन्यूले बिमोचन गर्नु भयो ।

गैरआवासीय नेपाली संघको सचिवालय, काठमाण्डौ ।

मिति: २०७२ मंसिर ८ गते