News

  • Home
  • News
  • गैरआवासीय नेपाली संघका पंजिकृत सदस्यहरुलाई सहुलियत दिने बारे सहमति पत्रमा हस्ताक्षरः

गैरआवासीय नेपाली संघका पंजिकृत सदस्यहरुलाई सहुलियत दिने बारे सहमति पत्रमा हस्ताक्षरः



आज एक समारोह वीच गैरआवासीय नेपाली संघ र नेपाल मेडिसिटि अस्पताल वीच एक सहमती पत्रमा हस्ताक्षर भएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट एवं गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष एवं प्रमुख संरक्षक तथा नेपाल मेडिसिटिका अध्यक्ष डा. उपेन्द्र महतो र गैरआवासीय नेपाली संघका उपाध्यक्ष सपीला राजभण्डारीको समुपस्थितिमा भएको सहमति पत्र अनुसार नेपाल मेडिसिटि अस्पतालले गैरआवासीय नेपाली संघका पंजिकृत सदस्यहरु एवं नीजको परिवारलाई आफ्नो सेवा शुल्कमा केही छुट दिने भएको छ । गैरआवासीय नेपाली संघले पंजिकृत सदस्यहरुलाई Readable Quick Response (QR) Code सहितका कार्ड उपलब्ध गराएको छ ।

सहमतिपत्र हस्ताक्षर समारोहमा बोल्नु हुँदै संघका अध्यक्ष भवन भट्टले सहमति पत्रले संघको मेडिसिटिसंग सुरुवात देखी चलेको सम्बन्धलाई औपचारिकता दिने काम गरेको र मेडिसिटिले छोटो समयमा नै विश्वसनियता आर्जन गर्न सकेकोमा खुशी व्यक्त गर्नु भयो । उहाँले नेपाललाई पर्यटन र स्वास्थ्यको केन्द्र बनाउन सकिने धारणा राख्नु भयो । अध्यक्ष भट्टले संघका सदस्यहरुलाई सहुलियत दिने सम्झौताको सुरु नै गैरआवासीय नेपाली अभियानका प्रवर्तकको प्रतिष्ठान बाट सुरु भएकोमा खुशी व्यक्त गर्नु भयो । उहाँले दुई संस्थाहरु वीच अझ गहिरो सम्बन्ध विकास हुने विश्वास व्यक्त गर्नु भयो ।

 

 

समारोहमा संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले मेडिसिटि गैरआवासीय नेपाली जस्तै एक नेपाललाई स्वास्थ्य मुलुक बनाउने अभियानमा मेडिसिटि लागेको र संगसंगै अघि जानु पर्ने धारणा राख्नु भयो । उहाँले अन्तर्राष्ट्रिय स्तरको सेवा नेपालमा नै उपलब्ध गराउने र अन्य स्वास्थ्य संस्थाहरुलाई पनि सेवा स्तर सुधार गर्न सघाउने उद्देश्यले नेपाल मेडिसिटि स्थापन गरिएको बताउनु भयो । संस्थापक अध्यक्ष महोतोले स्वास्थ्य प्रतिष्ठानमा विरामी भएपछि होइन स्वस्थ रहँदा नै आएर आफू स्वस्थ भएको प्रमाण लिन र पछि लाग्न सक्ने रोगबाट बच्न अपिल गर्नु भयो । उहाँले गैरआवासीय नेपालीहरुले नेपालमा नै स्वास्थ्य सेवा लिन सक्ने प्रतिष्ठान बनाउन पाएकोमा खुशी व्यक्त गर्दै आफ्नो लक्ष नेपालका अरु स्वास्थ्य सेवा प्रतिष्ठान संग प्रतिस्पर्धा गर्न नभई सबैको सेवाको स्तरमा सुधार गर्न आफूले मेडिसिटि स्थापना गरेको बताउनु भयो । साथै उहाँले यस्ता संस्था धेरै विकास भए नेपाल स्वास्थ्य सेवाको केन्द्र बन्न सक्ने धारणा राख्नु भयो ।

समारोहमा बोल्नु हुँदै संघकी उपाध्यक्ष सपिला राजभण्डारीले संघले पंजिकृत सदस्यहरुलाई QR Code सहितको परिचय पत्र उपलब्ध गराउन थालेको र ती परिचयपत्र बाहकहरुले नेपाल र विदेशमा कार्यरत विभन्न फर्म तथा कम्पनीका वस्तु र सेवामा सहुलियत प्राप्त गर्दा संघको सदस्यता अभियानलाई समेत सहयोग पुग्ने कुरा बताउनु भयो । परिचयपत्र बाहकहरुलाई सहुलियत दिने पहिलो सम्झौंता संस्थापक अध्यक्षले स्थापना गर्नु भएको संस्थाबाट सुरु गर्न पाएकोमा खुशी व्यक्त गर्नु हुँदै उहाँले आगामी दिनमा अरु फर्म तथा कम्पनीसंग पनि यस्तै प्रकारको सहमति गरिने बताउनु भयो । उहाँले भोली नै संघका अध्यक्षको संस्था TBI GROUP संग यस्तै प्रकारको सहमति पत्रमा हस्ताक्षर हुन लागेको जानकारी समेत गराउनु भयो ।
 सहमति पत्रमा संघको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त दवाडी र नेपाल मेडिसिटिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुधाकर जयरामले हस्ताक्षर गर्नु भएको थियो । समारोहमा काठमाडौंमा रहनु भएका गैरआवासीय नेपालीहरु तथा मेडिसिटिका प्रतिनिधिहरु एवं पत्रकारहरुको उपस्थिति थियो ।
गैरआवासीय नेपाली संघ ।
१७ मई २०१८ बिहिबार ।