News

  • Home
  • News
  • गैरआवासीय नेपाली संघका अध्यक्षद्वारा सभामुखसँग भेट

गैरआवासीय नेपाली संघका अध्यक्षद्वारा सभामुखसँग भेट



काठमाण्डौ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले संविधान निर्माणका क्रममा भएको प्रगतीप्रति खुसी व्यक्त गर्दै यसका लागि विशेष भुमिका खेल्नु भएकोमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ प्रति आभार प्रकट गर्नुभयो । अध्यक्ष नेम्वाङसँग संविधानसभा अध्यक्षको निवास बालुवाटारमा आज शुक्रबार (१२ जुन, २९ जेठ) मा भेट गर्दै अध्यक्ष घलेले प्रमुख दलहरुको बीचमा सहमति भइ संविधानसभाले पुन: संविधान निर्माणको कामलाई अगाडि बढाएको अहिलेको अवस्थाले केही समयमा नै संविधान जारी हुनेमा आफूहरु विश्वस्त रहेको बताउनुभयो । 

अध्यक्ष घलेले भेटको क्रममा गैरआवासीय नेपाली संघले भूकम्पपीडितका लागि गरेको पहिलो चरणको राहत वितरण, स्वास्थ्य क्याम्प लगायतको बारेमा विस्तृतमा जानकारी गराउनु भयो । संघले यस प्रकारको काम पहिलो पटक गरेको भए पनि नेपाल सरकारको केन्द्र देखि स्थानिय तहसम्मको संयन्त्रको सहयोग र समन्वयका कारण ३०० भन्दा बढी गैरआवासीय नेपाली स्वयंसेवीहरुले वास्तविक पीडितको हातमै राहत पुर्‍याउन सकेको उहाँको भनाई थियो ।राहत वितरणमा जस्तै सरकारसँगको समन्वयमा ३५ करोड रुपैयाँ बराबरका एक हजार घर निर्माण गर्ने अभियानमा अहिले संघ लागेको पनि उहाँले अध्यक्ष नेम्वाङलाई जानकारी गराउनुभयो । स्वदेशमा रहेका नेपालीले दु:ख पाउँदा विदेशमा रहेका नेपालीहरुले खुल्ला मनले आफ्नो ज्ञान, शिप र पुँजी स्वदेशको लागि खर्चन तयार हुन्छन् भन्ने अनुभव यसपटक आफूहरुले गरेको भन्दै अध्यक्ष घलेले सरकार र एनआरएनको संयुक्त प्रयासमा कुनै काम अगाडि बढाउँदा त्यसमा विदेशी दाताहरुले पनि साथ दिने विश्वास दिलाउनु भयो ।

त्यसक्रममा सभामुख नेम्वाङले विनाशकारी भूकम्पबाट आक्रान्त भएका भूकम्प पीडितको लागि संघले खुल्ला मनले गरेको राहत वितरण कार्य अत्यन्त प्रशंसीय भएको भन्दै स्वदेश प्रतिको दायित्व पुरा गर्न सदैव तयार देखिएकोमा खुसी ब्यक्त गर्नुभयो । अध्यक्ष नेम्वाङले एनआरएनहरुको पूँजी, सीप, जनशक्तिको सहयोगमा देशको पुन:निर्माण कार्यमा थप प्रभावकारी हुन भन्दै यसका लागि उपयुक्त वातावरण बनाउन आफू पूर्ण रुपमा लाग्ने विश्वास दिलाउनु भयो । देशको समृद्धिको लागि गैरआवासीय नेपालीहरुको भुमिका प्रमुख हुन्छ भन्ने आफ्नो विश्वास भएकोले अब बन्ने संविधानमा एनआरएनलाई नागरिकताको ब्यवस्था गर्न आफूले बिशेष पहल गरेको बताउनु भयो । 

गैरआवासीय नेपाली संघको सचिवालय,

काठमाण्डौं ।