News

  • Home
  • News
  • कार्यशाला गोष्ठी सम्पन्नः

कार्यशाला गोष्ठी सम्पन्नः



सन् २०१८ मार्च ४ का दिन १०८औ अन्तर्राष्ट्रिय नारी दिवस मनाउने क्रममा गैरआवासीय नेपाली संघ महिला फोरमको आयोजनामा वैदेशिक रोजगारबाट फर्किएर आएका नेपाली महिला कामदारहरुलाई नेपालमा आर्थिक सामाजिक तवरमा पुनः एकीकरण गर्ने विषय बारे एक कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष, महिला उपाध्यक्ष, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, महिला अधिकार कर्मी, संचारकर्मीहरु लगायत गैरआवासीय नेपाली संघका पदाधिकारीहरु र सदस्यहरु,सल्लाहकारहरु, मानार्थ समितिका सदस्यहरु, विभिन्न मुलुकका राष्ट्रिय समन्वय परिषदका अध्यक्ष तथा पदाधिकार लगायत विभिन्न मुलुकका गैरआवासीय नेपालीहरुको उपस्थितिमा भएको  कार्यक्रमको सुरुमा यस कार्यक्रमका विशेष अतिथि नेपाल सरकार श्रम मन्त्रालय वैदेशिक रोजगार विभागका महानिर्देशक भुवन प्रसाद आचार्यले आफू यस विभागमा भर्खरै आएता पनि वैदेशिक रोजगारको क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउन विभागले केही कार्यक्रम संचालनमा ल्याएको बताउनु भयो । उहाँले सामी परियोजनाको सहयोगमा २० जिल्लाहरुमा वैदिशक रोजगारमा जानेहरुलाई वैदेशिक रोजगार सम्बन्धी जानकारीहरु उपलब्ध गराई राखेको जानकारी दिनु भयो । उहाँले वैदेशिक रोजगारमा जानु पूर्व स्वदेशबाटै श्रमस्विकृती अनिवार्य रुपमा लिएर जानु पर्ने कानुनी प्रावधान रहेको कुरा उहाँले स्वदेशबाट श्रमस्वीकृति नलिई गएकाहरुको हक हितको रक्षा राज्यले गर्न नसक्ने बताउनु भयो । यसका साथै उहाँले फर्किएर आएका कामदारहरुको तथ्यांक हाल विभागसंग नरहेको तर यस सम्बन्धमा कार्यहरु भईरहेको जानकारी पनि गराउनु भयो । अन्त्यमा उहाँले कार्यक्रममा आमन्त्रण गरी आफ्नो भनाई राख्न दिएकोमा गैरआवासीय नेपाली संघ महिला फोरमलाई धन्यावाद दिनु भयो ।

कार्यक्रममा वैदेशिक रोजगारबाट फर्किएर आएका नेपाली महिला सहभागी कामदारहरुले आआफ्नो धारणाहरु राख्नु भएको थियो । धारणा राख्नेहरुमा शक्ति संस्थाका चरिमायाँ तामांग, पौरखिको सेल्टरमा बस्ने कमलीदेवी घर्ती,ताहाँचलको वैदेशिक रोजगार सूचना कक्षमा कार्यरत दुर्गा पोखरेल लगायत अन्य वैदेशिक रोजगारबाट फर्किएर आएका महिलाहरुले वैदेशिक रोजगारमा रहेका बेला भोगेका समस्याहरु र फर्किएर आएपछिका समस्याहरु बारे आफ्ना अनुभवहरु सुनाउनु भएको थियो । उहाँहरुले नेपाल सरकार र सरोकारवाला संस्थाहरुले वैदेशिक रोजगारबाट दुःख पाएर फर्केका नेपाली महिलाहरुलाई स्वदेशमै रोगारीको अवसर श्रृजना गर्न आग्रह गर्नु भएको थियो ।

वैदेशिक रोजगार पश्चात नेपाल फर्केका महिला कामदारहरुलाई नेपालमा कसरी पुनर्स्थापना गर्न सकिन्छ बारे सामाजिक अभियन्ता सरु जोशीले आफ्नो मन्तव्य राख्नु भएको थियो । उहाँले वैदेशिक रोजगारबाट फर्किएर आएका महिलाहरुलाई स्वेदशमै रोजगारी श्रृजना गर्नको लागि नेपाल सरकार र नीजि क्षेत्रलाई आग्रह गर्नु भयो । यसैगरी वैदेशिक रोजगार क्षेत्रमा कार्यरत संघसंस्थाहरु एशिया फाउण्डेसनका नन्दिता बराउ, सामी परियोजनाका सुर्य प्रसाद भण्डारी, सवा संस्थाका नीलु थापा, एफविनका दर्शना श्रेष्ठ, रोटट्रयाक नेपालका सीता रुपाखेती, पौरखीका चाँदनी राना र वीनका प्रतिनिधिहरुले आआफ्ना संस्थाले महिला उत्थानका लागि गरेका कार्यबारे जानकारी दिदै वैदेशिक रोजगारबाट फर्केर आएका महिलाहरुलाई सीपमूलक तालिम दिएर उनीहरु पुनर्स्थापना गर्न सकिने बारे धारणा व्यक्त गर्नु भएको थियो ।

वैदेशिक रोजगार प्रवर्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले वैदेशिक रोजगारको क्षेत्रलाई अझ सुरक्षित र मर्यादित बनाउन नयाँ नीती नियमहरु निर्माण हुन लागेको बताउँदै नेपाल सरकारले वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित पार्न सरोकारवाला संघसंस्था संग सहकार्य गरेर कार्यहरु गरिरहेको जानकारी गराउनु भयो । नेपाल सरकारले केही महिना अगाडी श्रम स्वीकृती लिएर वैदेशिक रोजगारमा गएर दुर्घटनामा परी घाइते भएका र मृत्यु भएका नेपाली कामदारहरुको सहयोगको लागि रकमहरु उपलब्ध गराउने व्यवस्था गरेको पनि बताउनु भयो । उहाँले विदेशबाट फर्केर आएका नेपाली कामदारहरुलाई पुनःस्थापना गराउने जिम्मेवारी नेपाल सरकारले प्रबर्द्धन बोर्डलाई दिएको बताउँदै यसको सुरुवात Pilot Project बाट सुरु गर्न सकिन्छ भन्ने धारणा राख्नु भयो । उहाँले Reintegration गर्ने कार्यको हिसाबले सरकार निकै पछि परेको स्वीकार गर्दै भविष्यमा यस कार्यलाई सशक्त ढंगले अघि बढाउने विश्वास दिलाउनु भयो । अन्त्यमा उहाँले सम्पूर्ण महिलाहरुलाई १०८औ अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा उहाँहरुको समृद्धिको लागि शुभकामना व्यक्त गर्नु भयो ।

नेपाल सरकार परराष्ट मन्त्रालयका सहसिचव एवं गैरआवासीय नेपाली महाशाखाका प्रमुख कृष्ण प्रसाद ढकालले गैरआवासीय नेपालीहरुको समसामियक समस्यामा प्रकाश पार्नु भयो । उहाँका अनुसार वैदेशिक रोजगारबाट फर्किएर आएका महिलाहरुलाई सामाजिक, पारिवारिक र आर्थिक रुपमा पुरुषको दाँजोमा सामाजिक आर्थिक तवरले पुनःस्थापना गर्न गार्हो भएकोले उनीहरुलाई पुनःएकिकरण गर्न एक विशेष प्याकेज ल्याउनु पर्नेमा जोड दिनु भयो । उहाँले वैदेशिक रोजगारमा जानेहरुको तथ्यांक बारे जानकारी दिदै विगतको तुलनामा हालका दिनहरुमा वैदेशिक रोजगारमा जाने महिलाहरुको संख्यामा अत्यधिक बृद्धि भएको बताउनु भयो । यसका साथै उहाँले वैदेशिक रोजगारमा अलपत्र परेका महिलाहरुलाई अल्पकालिन आश्रय दिनको लागि केही मुलुकहरुमा महिला सेल्टर स्थापना गरेको जानकारी दिनु भयो । उहाँले वैदेशिक क्षेत्रलाई अझ बढी सुरक्षित र व्यवस्थित गर्नको लागि वैदेशिक रोजगार मन्त्रालय संग बैठक भईरहेको बारेमा अवगत गराउनु भयो ।यसका साथै उहाँले यस क्षेत्रलाई मर्यादित बनाउन सबै सरोकारवालाहरुले मिलेर काम गर्नु पर्ने बताउनु भयो ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष सपीला राजभण्डारीले विदेशमा नेपाली महिलाबाट जन्मिएका बच्चाहरुलाई नागरिकताको व्यवस्था गर्न नेपाल सरकार संग आग्रह गर्नु भएको । यसका साथै उहाँले वैदेशिक रोजगराबाट फर्किएका नेपाली महिलाहरु मध्ये यो वर्ष २० जना महिलाहरुलाई गैरआवासीय नेपाली संघको पहलमा पुनःएकिकरण गरिने बताउनु भयो । उहाँले आफ्नो इच्छाले वैदेशिक रोजगारमा जानेलाई रोक्न नहुने तर जानु अघि गन्तव्य मुलुकको बारेमा आवश्यक सूचनालिनुका साथै सीप सिकेर वैदेशिक रोजगारमा जान अनुरोध गर्नु भयो ।

गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले महिलाहरुको शसिक्तिकरण हुनु पर्नेमा जोडदिनु भयो । उहाँले वैदैशिक रोजगारमा जानेलाई स्वदेशमै रोजगार गर्नको लागि सहुलियत व्याजदरमा  वित्तिय संस्थाहरुले ऋण उपलब्ध गराएमा उनीहरुका लागि विकल्पको बाटो खुल्ने धारणा राख्दै विदेशमा गएर रोजगारी गर्ने की स्वदेशमै रोजगरी गर्ने हो भनी आफैले चयन गर्ने बाटो दिनु पर्ने धारणा व्यक्त गर्नु भयो । उहाँले नेपालमा लगानी क्षेत्र प्रशस्त भएको हुँदा गैरआवासीय नेपालीहरुलाई लगानीको क्षेत्र पहिचान गरी स्वेदशमा लगानी गर्न आग्रह गर्नु हुँदै अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बधाई तथा शुभकामना  व्यक्त गर्नु भयो ।

यसपछि गैरआवासीय नेपाली संघ महिला फोरम, एफविन र नमूना फेसन कलेज टेक्नोलोजीको सहयोगमा दोश्रो चरणको विशेष सीप सम्बन्धी तालिम लिएका विभिन्न जिल्लाका  २० जना महिलाहरुलाई प्रमाण पत्र दिइएको थियो । तालिम लिएका मध्ये सबैजनाको तर्फबाट एक जना महिलाले तालिम बारे प्रकाश पार्नुका साथै तालिम पश्चात आफूहरुले राम्रै आयआर्जन गरिरहेको बताउँदै गैरआवासीय नेपाली संघ महिला फोरम प्रति आभार प्रकट गर्नु भएको थियो । सोही समयमा तालिम दिनेको तर्फबाट नमूना फेसन कलेज टेक्नोलोजीको तर्फबाट त्यहा संस्थापक ज्ञानीशोभा तुलाधरले प्रशिक्षार्थीहरुले आफ्नो काममा दक्षता हासिल गरेपछि मात्र यो प्रमाणपत्रको महत्व रहने बताउनु हुँदै तालिम लिएकाहरुको उज्जवल भविष्यको लागि सुभकामना व्यक्त गर्नु भयो ।

कार्यक्रमको अन्यत्यमा यस कार्यक्रमका सभापति तथा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका महिला संयोजक रजनी प्रधानले हालको नेतृत्वको कार्यकालमा भएका महिला गतिविहरु बारे जानाकारि दिनु भयो । उहाँले नेपालका महिलाहरुलाई स्वालम्वी बनाउनको लागि युरोप भरी १ युरो कार्यक्रम र विभिन्न राष्ट्रिय समन्वय परिषद्को सहयोगबाट नेपालमा महिलाहरुको लागि सीप मुलक तालिम, पाठेघर समस्या भएका महिलाहरुको स्वास्थ्य परिक्षण र उपचारका अतिरिक्त नाक कान घाँटी सम्बन्धी समस्या भएका महिला तथा बालबालिका लागि निशुल्क स्वास्थ्य शिविरहरु संचालन गरिरहेको बताउनु भयो । यसका साथै उहाँले पौरखी संग सहकार्य गरेर वैदेशिक रोजगारबाट दुःख पाएर फर्केका महिलाहरुलाई हाल एनसिसि बेल्जियमको सहयोगमा एउटा विद्युतिय टेम्पो उपलब्ध गराई सकेको र भविष्यमा ७५ वटै जिल्लामा उपलब्ध गराउने लक्ष्य रहेको बताउनु भयो । यसका साथै विभिन्न मुलुकमा रहेका राष्ट्रिय समन्वय परिषदहरुले विभिन्न अवसरमा महिला शसक्तिकरण सम्बन्धी कार्यक्रमहरु आयोजना गरिरहेको बताउँदै हाल सम्म ७८ मुलुकहरुमा राष्ट्रिय समन्वय परिषद गठन भएको र त्यस मध्ये ६० वटा मुलुकमा महिला फोरम गठन भएको जानकारी दिनु भयो । यी महिला फोरमहरुले आआफ्नो मुलुकमा समय समयमा नेपाली महिलाहरुको भेला गराई एक आपसमा अनुभवहरु साटासाट गर्ने कार्यहरु पनि गरिरहेको बताउनु भयो । उहाँले आजको कार्यक्रमले वैदेशिक रोजगारबाट फर्किएर आएका महिलाहरुलाई स्वदेशमै कसरी पुनःएकिकरण गर्न सकिन्छ बारे निष्कर्षहरु निकालेको हुँदा भविष्यमा कार्य योजना तयार गर्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्दै यसमा काम गर्नको लागि गैरआवासीय नेपाली संघ महिला फोरम नेपाल सरकार र सरोकारवालाहरुसंग सहकार्य गर्न सदैव तत्पर रहेको जानकारी दिनु भयो । साथै उहाँले यस्तो कार्यमा सहयोग गर्नको लागि सबै सरोकारवालाहरु समक्ष अपिल गर्नु भयो । अन्त्यमा उहाँले कार्यक्रममा आइ महत्वपूर्ण सुझावहरु दिनु भएकोमा नेपाल सरकार श्रम तथा वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रबर्धन बोर्ड, परराष्ट्र मन्त्रालय लगायत सहभागी संघ संस्था तथा व्यक्तिहरुका साथै सहभागी संघसंस्थाऽ संचरकर्मीहरु, वैदेशिक रोजगार बाट फर्केका महिला, गैरआवासीय नेपाली संघका अध्यक्ष लगायत पदाधिकारी र सचिवालय सबैलाई हार्दिक धन्यवाद दिनु हुँदै कार्यक्रम समापन गर्नु भयो ।

कार्यक्रमको संचालन गैरआवासीय नेपाली संघ युरोप क्षेत्रीय महिला उपसंयोजक संगीता मरहट्टा शर्माले गर्नु भएको थियो । प्रत्यक्ष रुपमा कार्यक्रममा ओसेनियाका क्षेत्रीय महिला उपसंयोजक प्रीति शर्मा, आइसिसि सदस्य शितल भूर्तेल, जर्मनीका उपाध्यक्ष राधिका सिंग्देल, कोरीयाका महासचिव डा. इन्दीरा तिवारी पूर्व, आइसिसि सदस्य सुनिता शर्माले सहयोगीको भूमिका निर्वाह गर्नु भएको  थियो भने गैरआवासीय नेपाली संघ मानार्थ समितिका सदस्य रविन्द्र श्रेष्ठ, सल्लाहकार सुरेन्द्र श्रेष्ठ, संघका पूर्व प्रवक्ता रन्जु थापा वाग्ले, एनसिसि रसीयाका अध्यक्ष रामेश्वर गौंतम, एनआरएनए एकेडेमी समितिका सभापति डा. प्रमोद ढकालका साथै विभन्न मुलुकबाट आउनु भएका गैरआवासीय नेपालहरुको सक्रिय सहभागीता रहेको थियो । यसरी नै कार्यक्रममा नेपाल सरकारका प्रतिनिधहहरु,सरोकारवाला संघ संस्थाहरु, वैदेशिक रोजगारबाट फर्किएका नेपाली महिलाहरु, संचार कर्मीहरु र समाजसेवीहरु गरी ११३ जना भन्दा बढीको सहभागीता रहेको थियो ।

महिला फोरम