News

  • Home
  • News
  • एनआरएनएद्धारा १ करोड २० लाखको स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण

एनआरएनएद्धारा १ करोड २० लाखको स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जापानबाट प्राप्त १० हजार पिस एन्टी जिन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ । करिब एक करोड रुपैयाँ मूल्य पर्ने उक्त एन्टी जेन एनआरएनए उपाध्यक्ष डा. बद्री केसीले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई शुक्रबार हस्तान्तरण गर्नुभएको हो ।स्वास्थ्य मन्त्रालयमा आयोजित सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै स्वास्थ्य राज्यमन्त्री नवराज रावतले विदेशमा रहेर नेपाल र नेपालीप्रति देखाएको सहयोगी भावनाको प्रशंसा गर्नुभयो । कोभिड–१९ विरुद्ध लड्न प्रवासमा रहेका नेपालीहरुले ठूलो योगदान पुर्याएको भन्दै मन्त्री रावतले भने, ‘यो पुन्य कार्यक्रममा एनआरएनएलाई सरकारले सहयोग गर्न तयार छ । मन्त्री रावतले नेपाल सरकार र संघबीच सहकार्यको आवश्यकता रहेको बताउदै कोरोना महामारीकाबिरुद्ध एकजुट हुन आग्रह गर्नुभयो ।

 

हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै एनआरएनए उपाध्यक्ष डा. केसीले संघले विश्वव्यापी कोरोना संक्रमण सुरु भए देखिनै विदेशमा रहेका नेपालीहरुले स्वास्थ्य सम्वन्धी सामग्री सहयोग गरेको चर्चा गर्नुभयो । विदेशमा नेपालीको अवस्था र उनीहरुले भोगिरहेको समास्याबारे प्रष्ट पार्दै उहाँले करिब १ करोड २० लाख रुपैयाँका ती स्वास्थ्य सम्वन्धी सामग्री जुटाउन सहयोग गर्ने जापानवासी नेपाली प्रति आभार व्यक्त गर्नु भयो ।  कार्यक्रममा गैरआवासीय नेपाली संघका मानार्थ परिषद्का सदस्य कपिलदेव थापाले आफ्नो पहलमा केही भए पनि स्वास्थ्य सम्वन्धी सामग्री नेपाललाई जुटाउन सकेकोमा प्रसन्नता प्रकट गर्नुभयो । थापाले यसअघि जापान सरकारले गरेको प्रतिबद्धता अनुसार थप स्वास्थ्य सम्वन्धी सामग्री नेपाल भित्राउन पहल गरिने जानकारी दिनुभयो । यसअघि थापाकै पहलमा संघले नेपाल सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो ।

सामग्री हस्तान्तरण कार्यक्रममा स्वस्थ्य सेवा विभागका कार्यकारी निर्देशक दिपेन्द्ररमण सिंह, गैरआवासीय नेपाली संघका कार्यकारी निर्देशक राजेश राणा लगायतको उपस्थिती थियो ।  कार्यक्रमको संचालन गैरआवासीय नेपाली संघ कोभिड १९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले गर्नु भएको थियो । गैरआवासीय नेपाली संघले कोभिड १९ को महामारी सुरु भएदेखि २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सम्वन्धी सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

 

संघले पहिलो चरणमा विश्वका ५० भन्दा बढी देशमा करिब २५ सय स्वयसेवक परिचालन गर्दै कोभिड पिडित नेपालीहरुलाई सहयोग गरेको थियो । यस्तै संघले कोभिड बिरुद्धको लड्न अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक उच्चस्तरिय समिति समेत गठन गरेको छ ।

 

गैरआवासीय नेपाली संघ, कोभिड १९ उच्चस्तरीय समिति

६ नोभेम्बर २०२०