News

  • Home
  • News
  • आठौं राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपाली टोली सहभागी हुने

आठौं राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपाली टोली सहभागी हुने



 

 

राष्ट्रिय खेलकुद परिषदले आगामी महिना नेपालगंजमा आयोजना गर्न लागेको आठौँ राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपाली टोली सहभागी हुने भएको छ | गैरआवासीय नेपाली संघले सो टोलीको व्यवस्थापन हुने गरि संघ र राष्ट्रिय खेलकुद परिषदको बीचमा सहमति भएको छ | कुल ३५ विधामा संचालन हुने उक्त खेलकुदमा सात प्रदेशको प्रदेश स्तरीय टोली, नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको एक-एक टोली तथा एक गैरआवासीय नेपाली टोली गरि कुल ११ टोली सहभागी हुँदै छन् | इतिहासमै पहिलो पटक राष्ट्रिय स्तरको प्रतियोगितामा परिषदले गैरआवासीय नेपाली टोलीलाई आमन्त्रण गर्ने निर्णय गरेको हो |

गैरआवासीय नेपाली टोलीको सहभागिताले प्रवासमा रहेका नेपालीमा नेपाल प्रतिको माया अझै बढ्ने र नेपालमा खेलकुद क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा विकास भएका नविन प्रविधि, कौशल र सिप भित्रिने आठौँ राष्ट्रिय खेलकुद गैरआवासीय नेपाली टोली संयोजन समितिका संयोजक तथा गैरआवासीय नेपाली संघका अन्तर्राष्ट्रिय युवा संयोजक सुदन थापाले बताउनु भयो | राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरेका कयौं नेपाली खेलाडी प्रवासमा छन् | आठौँ राष्ट्रिय खेलकुद मार्फत प्रवासमा रहेका खेलकुद प्रतिभाहरुको सहभागिताले सम्पूर्ण गैरआवासीय नेपाली माझ उत्साह छाएको संघका अध्यक्ष भवन भट्टले बताउनु भएको छ | नेपालको खेलकुद क्षेत्रको श्रीवृद्धिमा गैरआवासीय नेपाली संघको पूर्ण सहयोग रहने भन्दै संघका अध्यक्ष भट्टले आगामी दिनमा आयोजना हुने राष्ट्रिय स्तरका खेलहरुमा गैरआवासीय नेपाली टोली नियमित सहभागी हुने गरि परिषदसंग सम्झौता गर्ने तयारीमा रहेको बताउनुभएको छ | गैरआवासीय नेपाली संघले आफ्ना संजाल रहेका ७९ वटै मुलुकमा खेलाडीको नाम पठाउन आव्हान गरिसकिएको संघका सचिवालय प्रमुख डा. हेमन्त कुमार दवाडीले जानकारी दिनु भयो |