News

  • Home
  • News
  • अफ्रिकी क्षेत्रीय वैठकमा एनआरएन अध्यक्ष सहभागी, राहत कोषका लागि सहयोग

अफ्रिकी क्षेत्रीय वैठकमा एनआरएन अध्यक्ष सहभागी, राहत कोषका लागि सहयोग



नैरोवी । गैरआवासीय नेपालीका अध्यक्ष शेष घलेले पहिलो पटक अफ्रिकी महादेशको भ्रमण गर्नु भएको छ । गैरआवासीय नेपाली संघ अफ्रिका क्षेत्रीय वैठकमा सहभागी हुन घले हालै केन्याको नैरोवी पुग्नु भएको हो । यो नै एनआरएनए अध्यक्षले गरेको पहिलो अफ्रिका भ्रमण हो । भ्रमणका अबसरमा उहाँले गैरआवासीय नेपाली संघ क्षेत्रीय वैठकमा सहभागिता जनाउँदै गैरआवासीय नेपाली संघको आगामी दुई बर्षे कार्ययोजना र प्राथिमिकता बारे जानकारी गराउनु भयो । सो अबसरमा उहाँले पछिल्ला दिनमा अफिक्री देशहरुमा नेपालीहरु अलपत्र पर्ने क्रम बढेको भन्दै उनीहरुको उद्दारमा तप्पर हुन त्यहाँ स्थित गैरआवासीय नेपालीहरुलाई आह्वान गर्नुभयो । अमेरिका र युरोप लैजाने भन्दै मानवतस्करहरुले नेपाली युवा युवतीहरुलाई अफ्रिकी मुलुक पुर्‍याएर अलपत्र पार्ने क्रम पछिल्लो दिनमा बढेको छ । धेरै नेपाली चेलीहरुलाई त्यहाँ डान्स बारमा पुर्‍याएर शोषण गर्ने गरिएको पाइएको छ ।

सम्मेलनकै अबसरमा उनीहरुको उद्दारका लागि एनआरएनए अफ्रिका क्षेत्रीय समितिले ‘अफ्रिका राहत कोष’ स्थापना गरेको छ । जसमा अध्यक्ष घलेले ब्यक्तिगत रुपमा दुई हजार अमेरिकी डलर सहयोगको घोषणा गर्नु भयो । बैठक स्थलमै कोषमा झण्डै ४ हजार डलर जम्मा भएको थियो । अध्यक्ष घलेले सानो संख्यामा भए पनि यहाँ रहेका गैरआवासीय नेपालीहरुले देखाएको सक्रियताको तारिफ गर्नु भयो । आगामी दिनमा अफ्रिकी मुलुकहरुमा कार्यरत नेपाली प्रोफेसनलहरु समक्ष सम्पर्क स्थापित गर्दै गैरआवासीय नेपाली अभियानमा सहभागी गराउन उहाँले आग्रह गर्नु भयो । सो अबसरमा अध्यक्ष घलेले केन्याका लागि नेपाली कन्सुलेट जनरलसंग भेटवार्ता गरी नेपालमा लगानीका अबसर बारे अफ्रिकी लगानीकर्ताहरुलाई जानकारी गराउन आग्रह गर्नु भयो । नेपालमा प्रसस्त लगानीका अबसर रहेको जानकारी गराउँदै उहाँले त्यसका लागि सहजीकरण गर्न गैरआवासीय नेपाली संघ तयार रहेको जानकारी दिनु भयो ।