News

  • Home
  • News
  • अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन काठमाण्डौंमा, डायस्पोराका कविता बिमोचन

अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन काठमाण्डौंमा, डायस्पोराका कविता बिमोचन



काठमाण्डौ । गैरआवासीय नेपाली संघ र नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा काठमाण्डौंमा अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु भएको छ । सम्मेलनको उद्घाटन गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र राष्ट्रकवि माधवप्रसाद घिमिरेले संयुक्तरुपमा गर्नुभयो । सो अबसरमा बिदेशमा वस्ने नेपाली साहित्यकारहरुले लेख्नुभएका ९९ वटा कविताहरुको संगालो ‘नेपाली डायस्पोराका कविता’को बिमोचन गरियो । पहिलोपटक प्रकाशित यो कृतिमा समावेश सवै कवितालाई अंग्रेजी भाषामा पनि उल्था गरिएको छ । सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले जहाँजहाँ नेपाली पुग्छन त्यहाँत्यहाँ नेपाली नेपाली भाषा र संस्कृति पुग्ने गरेको भन्दै त्यसलाई संरक्षण गर्न गैरआवासीय नेपाली संघ सक्रिय रहेको बताउनुभयो । ‘हाम्रा छोरीछोरीले हाम्रा आमाबुबासंग कुराकानी गर्न भाषा नजान्ने अबस्था आउनुको पीडालाई हामीले राम्रोसित बुझेका छौं’ अध्यक्ष घलेले भन्नुभयो– ‘त्यसैले पनि हामीले नेपाली भाषा, साहित्य र संस्कृतिको सम्र्बद्धनलाई एउटा प्रमुख उदेश्य बनाएका छौं ।’

 

नेपाली भाषा साहित्यको प्रर्बद्धनमा सहकार्य गर्ने उदेश्यसहित दुई बर्ष अगाडी गैरआवासीय नेपाली संघ र प्रज्ञा प्रतिष्ठानवीच सम्झौता भएको थियो । त्यसयता संघका निर्वतमान अध्यक्ष जीवा लामिछानेको संयोजकत्वमा गठित भाषा साहित्य टास्क फोर्सले प्रतिष्ठानसाग सम्वन्वय गरी प्रर्बद्धनको काम गरिरहेको छ । सम्मेलनलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष लामिछानेले दुई भाषामा प्रकाशित कृतिलाई राम्रो सुरुवातका रुपमा टिप्पणी गर्नुभयो । ‘हाम्रो सहकार्यमा प्रकाशित यो पहिलो कृति हो ।’ लामिछानेले भन्नुभयो– ‘यो सुरुवात मात्र हो, हामी आगामी दिनमा भाषा साहित्यको प्रर्बद्धनमा धेरै राम्रा काम गर्न सक्छौं ।’ राष्ट्रकवि माधवप्रसाद घिमिरेले नेपाली जहाँ पुगे पनि नेपाली भाषा साहित्यलाई सागै लगेको भन्दै खुसी प्रकट गर्नुभयो । बिभिन्न संघसंस्थामार्फत् प्रवासी भूमीमा पनि नेपाली साहित्यको प्रर्बद्धनमा भइरहेका कामको उहाँले तारिफ गर्नुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेतीले दुई संस्थावीचको सहकार्यले नेपाली भाषा साहित्यलाई उन्नत बनाउन र नेपाली भाषालाई विस्तार गर्न सहयोग पुगेको बताउनुभयो । एक दिने सम्मेलनमा प्रवासी भूमीमा नेपाली साहित्यबारे बिभिन्न कार्यपत्र प्रस्तुत हुने आजै समापन हुने निवर्तमान अध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।

 

गैरआवासीय नेपाली संघको सचिवालय, काठमाण्डौं ।

मिति: २१ असोज, २०७२ ।